आइपिएल २०२४ मा विराट कोहलीले जिते ‘ओरेन्ज क्याप’, हर्षल पटेललाइ ‘पर्पल क्याप’

Image

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ ले नयाँ विजेताको रूपमा कोलकाता नाइट राइडर्सलाई पाएको छ । आइतबार राति भएको फाइनलमा सनराइजर्स हैदराबादविरुद्ध आठ विकेटको सहज जित निकाल्दै कोलकाता तेस्रोपटक आईपीएल च्याम्पियन बनेको हो ।

कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा आईपीएल जितेको थियो । प्रतियोगिताले नयाँ विजेता पाउँदा प्लेअफबाट बाहिरिएको रोयल च्यालेन्जर्स बेंगलोरका ब्याटर विराट कोहली आईपीएल–२०२४ को ‘ओरेन्ज क्याप’ जित्ने खेलाडी बनेका छन् ।

प्रतियोगितामा सबैभन्दा धेरै रन बनाउने खेलाडीले पाउने ‘ओरेन्ज क्याप’ जितेका विराटले १५ इनिङ्समा ७४१ रन बनाए । यसक्रममा कोहलीले एक शतक र पाँच अर्धशतक बनाए । ‘पर्पल क्याप’ जितेका पञ्जावका हर्षल पटेलले १४ इनिङमा २४ विकेट लिए ।  ‘पर्पल क्याप’ प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिने खेलाडीले पाउँछन् ।

कोलकाता नाइट राइडर्सका अलराउन्डर सुनिल नारिन प्रतियोगिताको सबैभन्दा उत्कृष्ट खेलाडी बने । प्रतियोगिताभर ब्याट र बल दुवैतर्फ जमेका नारिनले १४ इनिङमा एक शतक र तीन अर्धशतकसहित ४८८ रन र १७ विकेट लिए ।