टस जितेर नेपालले पहिले बलिङ गर्दै, यस्तो छ प्लेइङ–११

Image

काठमाडौं । टी-२० विश्वकपको पहिलो वार्मअप खेलमा क्यानडाविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ ।नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ रोजेका हुन् ।  अमेरिकाको डल्लासस्थित क्रिकेट मैदानमा यो खेल हुँदैछ ।

क्यानडासँग खेल्नुअघि नेपालले अमेरिकाको स्थानीय क्लब ह्युस्टन हरिकेन्ससँग दुई अभ्यास म्याच खेलेको थियो । उक्त दुवै अभ्यास खेलमा नेपाल विजयी भएको थियो । नेपाली टिम अब क्यानडाविरुद्ध पनि जित निकाल्दै अपराजित रहन चाहन्छ ।

नेपाल र क्यानडावीच अहिलेसम्म एक मात्र टी–२० अन्तर्राष्ट्रिय खेल भएको छ । जसमा २०२२ को फेब्रुअरी २१ मा भएको सो खेल नेपाल ८ विकेटले जितेको थियो । आइसीसीको टी–२० वरियतामा नेपाल १७ औं स्थानमा छ भने क्यानडा २३औं स्थानमा रहेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले विश्वकपमा सहभागी सबै २० टोलीलाई अमेरिका र वेस्ट इन्डिजमा गरी २–२ अभ्यास खेलको व्यवस्था मिलाइदिएको छ, त्यसअनुरुप नेपालले सोमबार क्यानडा र तीन दिनपछि अमेरिकासँग खेल्ने छ । पहिलो दिनको अभ्यासमा ओमानले पपुवा न्युगिनी र नामिबियाले युगान्डासँग खेल्ने छ ।

मंगलबार श्रीलंका र नेदरल्यान्ड्स, बंगलादेश र अमेरिका, अस्ट्रेलिया र नामिबिया, बुधबार अफगानिस्तान र ओमान विश्वकपअघि अभ्यास खेल जुट्ने छन् । नेपालले दुवै खेल डालासको ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा खेल्ने छ । नेपालले यही मैदानमा जुन ४ मा नेदरल्यान्ड्सविरुद्ध खेलेर ट्वान्टी–२० विश्वकप यात्रा सुरु गर्नेछ । त्यसपछि अमेरिकाकै फ्लोरिडामा श्रीलंकासँग जुन ११ मा तथा वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशसँग खेल्ने छ ।

क्यानडाविरुद्ध नेपालले प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर),अनिलकुमार साह, रोहितकुमार पौडेल (कप्तान), कुशल मल्ल, गुलशन कुमार झा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, अविनाश बोहरा र सागर ढकाल