‘विश्वकपमा भारतीय खेलाडीले बहाना बनाउने ठाउँ छैन’ वसिम अकरम

Image

काठमाडौँ । पाकिस्तानका पूर्व क्रिकेटर वसिम अकरमले आगामी टी–२० विश्वकपमा नराम्रो प्रदर्शन गरे भारतीय खेलाडीसँग बनाउन कुनै बहाना बाँकी नरहेको बताएका छन् । टी–२० विश्वकपको नवौँ संस्करण जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदै छ ।

आफ्नो समयका प्रभावशाली खेलाडी अकरमले हालै सम्पन्न इन्डियन प्रिमियर लिगको फाइनलमा भारतका कुनै पनि प्रभावशाली खेलाडीको उपस्थिति नरहेकाले भारतीय खेलाडीसँग कुनै बहाना बाँकी नरहेको टिप्पणी गरेका हुन् ।

‘आगामी विश्वकपमा भारतीय खेलाडीसँग उत्कृष्ट प्रदर्शन गर्नुको कुनै विकल्प छैन । आईपीएलको फाइनलमा कुनै पनि प्रभावशाली भारतीय खेलाडी सहभागी थिएनन् । त्यसैले उनीहरुले पर्याप्त आराम नपाएको बहाना पनि बनाउन पाउने छैनन्,’ अकमरले ठट्यौली पारामा भनेका छन् ।

आईपीएलको हालै सम्पन्न फाइनलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई आठ विकेटले हराएको थियो । कोलकाता नाइट राइडर्स श्रेयष ऐयरको कप्तानीमा थियो ।

‘भारतीय टोलीमा विराट कोहली, रोहित शर्मा, जसप्रित बुमराह, हार्दिक पाण्ड्याजस्ता चर्चित खेलाडी छन् । तर, उनीहरु आईपीएलको फाइनलमा थिएनन् । त्यसैले अब उनीहरुसँग विश्वकपअघि पर्याप्त आराम नपाएको भनेर बनाउने बहाना पनि बाँकी छैन,’ अकरम भन्छन् ।

रिंक सिंहले भने आईपीएलको फाइनल खेलेका थिए । तर, उनी विश्वकपका लागि घोषित भारतीय टोलीमा १५ खेलाडीभित्र परेका छैनन् । उनी टोलीमा रिजर्भ खेलाडीका रूपमा सहभागी छन् । आगामी टी–२० विश्वकपमा भारत समूह ‘ए’ मा परेको छ ।

उक्त समूहमा भारतको चिर प्रतिद्वन्द्वी पाकिस्तान, क्यानडा, आयरल्यान्ड र आयोजक अमेरिका पनि रहेका छन् । भारतले आफ्नो पहिलो खेल जुन ५ तारिखमा आयरल्यान्डसँग खेल्दैछ । भारत र पाकिस्तानबिचको खेल भने जुन ९ तारिखमा खेलिने छ ।