काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलमा अस्ट्रेलियाले नामिबियामाथि सहज जित निकालेको छ । वेस्ट इन्डिजमा बुधबार बिहान सपन्न खेलमा अस्ट्रेलियाले ७ विकेटको सहज जित निकालेको हो ।
नामिबियाले दिएको १ सय २० रनको लक्ष्य अस्ट्रेलियाले १० ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । अस्ट्रेलियाका लागि ओपनर डेबिड वार्नरले २१ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ५४ रनको अर्धशतकीय ईनिङ खेले ।
टिम डेबिडले १६ बलमा २३ तथा कप्तान मिचेल मार्शले १४ बलमा १८ रन बनाए । नामिबियाका लागि बेर्नाड स्कोडेजेले २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन बनाएको थियो । नामिबियाका लागि जान ग्रिनले ३० बलमा ३८ तथा मलान कुर्जरले ११ बलमा १८ रन बनाएका थिए ।
अस्ट्रेलियाका लागि एडम जाम्पाले ३ तथा जोस हेजलवुडले २ विकेट लिएका थिए । हेजलवुडले ४ ओभरमा ३ मेडन राखेर ५ रन खर्चिएका थिए । विश्वकपमा अस्ट्रेलिया र नामिबिया समूह बी मा रहेका छन् ।
यस्तै, नेपाल समूह समूह ‘डी’ मा रहेको छ । नेपालले वार्मअप म्याचको पहिलो खेलमा क्यानडासँग ६३ रनले पराजित भयो । नेपालले अब दोस्रो वार्मअपमा बिहीबार अमेरिकासँग खेल्नेछ ।













