नेपाल र श्रीलंकाबीचको खेलको टसमा ढिलाइ

Image

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा बुधबार बिहान नेपालले टेस्ट राष्ट्र श्रीलंकाको सामना गर्दैछ । अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा नेपाली समयअनुसार बिहान ५ः१५ बजे सुरु हुनुपर्ने नेपाल र श्रीलंकाबिचको खेल वर्षाका कारण ढिलाइ भएको छ ।

खेल सुरु हुनुभन्दा आधा घन्टाअघि टस हुन पर्नेमा ढिलाइ भएको छ। अहिले मैदानमा सिमसिम पानी परेको छ। आइसिसीका अनुसार अहिलेसम्म मैदानको निरिक्षण भइरहेको छ। समूह ‘डी’ मा पहिलो जितको खोजीमा रहेका दुवै टोलीलाई अमेरिका फ्लोरिडास्थित ब्रोवार्ड काउन्टीको मौसमले चिन्ता बढाएको छ।

सेन्ट्रल ब्रोवार्ड रंगशाला क्षेत्रमा दिनभर वर्षा भएको थियो। विहादेखि सुरू भएको वर्षा साँझसम्म रोकिएको छैन। मैदानको आउटफिल्डमा पानी जमेको छ। मुख्य पीच छोपिए पनि रनिङ क्षेत्र वर्षातका कारण भिजेको छ। आइसिसीका अनुसार खेल सुरु हुने समयभन्दा ३ घन्टापछि (नेपाली समयअुनसार विहान ८:२६ बजे) खेल हुनु हुन पर्नेछ।

मैदानको विषयमा मैदान प्राविधिकले अन्तिम पटक (विहान ६:२० बजे) मैदानको अवस्थाबारे जानकारी गराएपछि खेलको विषयमा निर्णय हुनेछ। ढिला गरी खेल हुने सम्भावना भएमा ओभर घटाएर कम्तिमा ५ ओभरको खेल हुनेछ।

जारी विश्वकपमा नेपालले खेल्न लागेको यो दोस्रो खेल हो । यसअघि खेलिएको आफ्नो पहिलो खेलमा नेपाली टोली नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । जारी विश्वकपमा नेपाल र श्रीलंका समूह ‘डी’ मा रहेको छ ।

त्यो समूहमा टेस्ट राष्ट्र दक्षिण अफ्रिका र बंगलादेश पनि छन् । त्यो समूहमा हालसम्म पाँच खेल खेलिसकिएको छ । समूहको पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई ६ विकेटले हराएको थियो ।

यसैगरी तेस्रो खेलमा बंगलादेशले श्रीलंकामाथि दुई विकेटको जित हासिल गरेको थियो । चौथो खेलमा दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सलाई चार विकेटले पराजित गरेको थियो । समूहको पाँचौँ खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई चार रनले हराएको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा घोषित पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा टेस्ट राष्ट्र श्रीलंका आठौँ स्थानमा आसीन छ । नेपाल भने पछिल्लो आईसीसी वरीयताको १७औँ स्थानमा रहेको छ ।