नेपाल र श्रीलंकाबीचको खेल रद्द, श्रीलंका समूह चरणबाटै बाहिरियो

Image

काठमाडौं । आईसीसी टी२० विश्वकप २०२४ मा नेपाल र श्रीलंकाबीचको खेल वर्षाको कारण रद्द भएको छ । योसँगै दुबै टोलीले १-१ अंक बाँडेका छन् ।

मंगलबार राती देखिनै लगातार भारी वर्षा भएपछि टस पनि हुन नसकी खेल रद्द भएको हो । मैदानको आउटफिल्डमा पानी जमेको थियो। मुख्य पीच छोपिए पनि रनिङ क्षेत्र वर्षातका कारण भिजेको थियो। लगातार दुई खेलमा पराजित श्रीलंका भने बाहिरिएको छ। अब नेपालले सेन्ट भिसेन्टमा दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्नेछ। दुवै टिमलाई हराए मात्र नेपाल सुपर-८ मा पुग्नेछ।

नेपाल र श्रीलंका दुबै खेलाडीले समर्थकलाई धन्यावाद दिएका छन् । खेल हेर्नका लागि अमेरिकाभर तथा अरू देशबाट फ्लोडिडा आइपुगेका हजारौं दर्शकका लागि पनि मौसमले खिन्न बनाएको छ। केही समर्थकहरु खेल सुरु हुनभन्दा तीन घन्टा पहिले नै रंगशाला आइपुगेका थिए।

श्रीलंकाविरूद्धको खेलअघि अन्तिम अभ्यासका लागि सेन्टर ब्रोवार्ड काउन्टी रंगशालामा भेटिएका नेपालका कप्तान रोहितकुमार पौडेलको पनि मौसमकै चिन्ता थियो। गर्मी बढिरहेको फ्लोरिडामा अहिले हरेक दिनजसो वर्षा भइरहेको छ। दुई दिनअघि पनि भारी वर्षा हुँदा ब्रोवार्ड काउन्टी मैदानमा पानी निकै जमेको थियो।

आईसीसीको नियम अनुसार सेमिफाइनल र फाइनलको मात्रै रिजरभ डे राखिएको छ । त्यसैले आज खेल हुन नसक्ने अवस्थापछि दुबै टोलीले १-१ अंक बाँडेका हुन् । जारी विश्वकपमा समूह बी मा इंग्ल्यान्ड र स्कटल्यान्डबीचको खेल मात्रै रद्द भएको छ । अन्य २२ मध्य २१ खेलको नतिजा आएको थियो ।

नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । उता श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेट र बंगलादेशसँग २ विकेटले पराजित भएको थियो ।

यस्तै अब समूह चरणका बाँकी दुई खेल खेल्न नेपाली टोली वेस्टइन्डिज जानेछ । वेस्टइन्डिजको सेन्ट भिन्सेन्टमा नेपाली टोलीले यही जेठ ३२ गते दक्षिण अफ्रिका र आगामी असार २ गते बङ्गलादेशसँग खेल्नेछ ।