काठमाडौं । नेपाल राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले माल्दिभ्सविरुद्ध गोल हान्दैमा धेरै उत्साहित हुन नपर्ने बताएका छन् । प्रशिक्षक तामाङले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपमा सोमबार ११-० को फराकिलो जित निकालेपछिको पत्रकार सम्मेलनमा यस्तो प्रतिक्रिया दिए ।
महत्वपूर्ण तीन अंक पाएकोमा खुसी छु, तर फराकिलो जित निकाल्यो भन्दैमा उत्साहित हुनु पर्दैन । हामीले यस्तो टोलीविरुद्ध गोल गरेका छौं जहाँ महिला फुटबललाई खासै महत्व दिँइदैन । माल्दिभ्समा महिला नै हुँदैन । अब हामी श्रीलंकाविरुद्धको खेलमा ध्यान दिनेछौं । भुटानविरुद्ध खेलाडी सेल्फिस देखिएपछि मैल उनीहरुलाई चेतावनी दिएको थिए । त्यसले आज काम गर्यो । त्यो खेलमा पनि पाएका अवसरलाई सदुपयोग गर्न सकेका थिएनौं,’ प्रशिक्षक तामाङले भने ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन रेखा पौडेलले पाँच, प्रीति राईले तीन तथा सवीता रानामगर, अनिता केसी र अमिशा कार्कीले समान एक गोल गरे ।
यसैगरी लामो यात्रा गरेर आएका सावित्रा भण्डारीलाई नखेलाएको बताए । ‘लामो यात्रा गरेर आएकाले सावित्रा खेल्न तयार थिइनन् । अन्त्यतिर पठाउने तयारी थियो तर टिमका अन्य साथीहरुले जोखिम नमोल्न सल्लाह दिनु भयो । उनलाई मैदान उतार्न आवश्यक पनि देखिएन,’ तामाङले थपे । फ्रेन्च लिग खेलेर सावित्रा सोमबार बिहान मात्रै नेपाल आइपुगेकी थिइन् ।
खेलमा पाँच गोल गरेकी रेखा पौडेल योजना अनुसारको प्रदशर्न भएको बताउँछिन् । ‘माल्दिभ्सविरुद्धको खेल योजना अनुसारकै भयो । पहिलो खेलमा भुटानविरुद्ध गोल गर्न नसक्द सबै जना दबाबमा थियौं । हाम्रो मनोबल बढाउन पनि यो खेलमा गोल आवश्यक थियो । महत्वपूर्ण तनि अंक प्राप्त गरेकोमा खुसी छौं । यो जितले आगामी खेलमा हौसला प्रदान गर्नेछ ,’ रेखाले भनिन् । समूह चरणको अन्तिम खेलमा नेपालले बिहीबार श्रीलंकको सामान गर्नेछ ।