सिरिज गुमाएपछि भारतलाई लाग्यो ठूलो झट्का

Image

एजेन्सी । विश्व टेस्ट च्याम्पियनसिप फाइनल खेल्ने तयारीमा रहेको भारतीय क्रिकेट टिमलाई झट्का लागेको छ। न्युजिल्यान्डविरुद्धको टेस्ट म्याच सिरिज गुमाएपछि भारतलाई ठूलो झट्का लागेको हो।

सिरिजको पहिलो टेस्ट ८ विकेटले गुमाएको भारतले शनिबार दोस्रो टेस्टमा ११३ रनले हारको सामना गर्‍यो। योसँगैं तीन टेस्टको सिरिज न्युजिल्यान्डले तेस्रो टेस्ट खेल्न बाँकी छँदै जितेको छ।

भारतीय टिमले उनीहरुकै भुमिमा ४३३१ दिनपछि यानि सन् २०१२ पछि टेस्ट सिरिज गुमाएको हो । न्युजिल्यान्डका स्पिनरहरूले भारतीय ब्याटिङ ध्वस्त बनाएको थियो । बेंगलुरु टेस्टको पहिलो इनिङमा भारतीय टिम मात्र ४६ रनमा अलआउट भएको थियो।

दोस्रो टेस्ट यसरी सकियो

पहिलो दिनमा न्युजिल्यान्डले २५९ रन बनायो । जसमा, भारतीय स्पिनर वाशिंगटन सुन्दरले ७ विकेट लिए । रविचन्द्रन अश्विनको नाममा ३ विकेट गएको थियो । यसको जवाफमा भारतले १ विकेटको क्षतिमा १६ रन बनाएको थियो । भारतीय कप्तान रोहित शर्मा शून्यमा आउट भएका थिए ।

दोस्रो दिन भारतले मात्र १४० रन जोडेर १५६ रनमा अलआउट भयो । यसले न्युजिल्यान्डलाई महत्वपूर्ण १०३ रनको अग्रता दिलायो । विराट कोहली १ रनमै आउट भए भने यशस्वी जयसवालले ३० रन बनाएर आउट भएपछि भारतीय ब्याटिङ धर्मराएको थियो । न्युजिल्यान्डले दोस्रो इनिङमा ५ विकेटको क्षतिमा १९८ रन बनाउँदा दोस्रो दिनको खेल समाप्ति भएको थियो। यतिन्जेल न्युजिल्यान्डले ३०१ रनको अग्रता बनाइसकेको थियो ।

तेस्रो दिन न्युजिल्यान्डले २५५ रन बनाएर अलआउट भयो र भारतलाई ३ सय ५९ रनको विजयी लक्ष्य दियो । यसको जवाफमा भारतीय टिम २४५ रनमा अलआउट भयो। न्युजिल्यान्डका सेन्टनरले ७ विकेट लिए। उनले पहिलो इनिङमा पनि ७ विकेट नै लिएका थिए । भारतको तर्फबाट यशस्वीले सर्वाधिक ७७ रन बनाए।

पाकिस्तानले जित्यो

भारतको कट्टर प्रतिद्वन्द्वी पाकिस्तानी क्रिकेट टिमले भने इंग्ल्यान्डविरुद्धको ३ खेलको टेस्ट सिरिज २–१ ले जितेको छ। पाकिस्तानले घरेलु भुमिमा ४ वर्षपछि तथा इंग्ल्यान्डविरुद्ध ९ वर्षपछि टेस्ट सिरिज जितेको हो ।

पहिलो टेस्ट इंग्ल्यान्डले जितेपनि यसपछिका दुबै टेस्टमा घरेलु टिम पाकिस्तानका स्पिनर हावी भएका थिए। दुबै टेस्टमा इंग्ल्यान्डका ब्याटरहरू पाकिस्तानका स्पिनर नोमान अली र साजिद खानको बलिङमा फ्लप भएका थिए। तेस्रो टेस्टमा यी दुबै बलरले १९ विकेट लिएका थिए।