माननीय जनप्रतिनिधिज्यूहरू,
स्थानीय सरकार तथा प्रदेश सरकार,
विषय : मन्दिर तथा धार्मिक संरचनामा बढ्दो कंक्रीटीकरण रोक्न र सार्वजनिक स्रोतको विवेकपूर्ण उपयोग गर्न आग्रह
धार्मिक आस्था, संस्कृति र परम्पराप्रति सम्मान व्यक्त गर्दै यो खुलापत्र लेख्दै छु। हाम्रो समाज धर्म, संस्कार र सांस्कृतिक सम्पदाले समृद्ध छ। मन्दिरहरू केवल पूजा गर्ने स्थल मात्र होइनन्, ती हाम्रो इतिहास, सभ्यता, संस्कार र सामूहिक पहिचानका प्रतीक पनि हुन्। त्यसैले तिनको संरक्षण र संवर्द्धन आवश्यक छ।
तर पछिल्ला केही वर्षयता स्थानीय तह र प्रदेश सरकारका बजेट तथा योजनाहरू हेर्दा मन्दिर तथा धार्मिक संरचनाहरूमा अत्यधिक लगानी भइरहेको देखिन्छ। अझ चिन्ताको विषय के छ भने त्यो लगानी धार्मिक सम्पदाको संरक्षण, कलात्मक सौन्दर्य अभिवृद्धि वा सांस्कृतिक महत्व जोगाउनभन्दा बढी कंक्रीटका नयाँ संरचना निर्माण गर्न केन्द्रित भइरहेको छ।
आज धेरै मन्दिर परिसरहरूमा गेष्ट हाउस, सभा हल, बहुउद्देश्यीय भवन तथा विभिन्न किसिमका संरचनाहरू निर्माण गर्ने होडबाजी चलेको देखिन्छ। मन्दिर परिसरभित्र खाली ठाउँ देख्नासाथ भवन थप्ने प्रवृत्ति बढ्दो छ। कतिपय स्थानमा मन्दिरको मौलिक स्वरूप नै हराउने अवस्था सिर्जना भएको छ।
हामीले एकपटक गम्भीर भएर सोच्न आवश्यक छ-के भगवानप्रतिको आस्था ठूला भवनले बढाउँछ कि शान्त वातावरण, हरियाली, स्वच्छता र आध्यात्मिक अनुभूतिले? के मन्दिरलाई होटल, पार्टी प्यालेस वा व्यवसायिक संरचनाको स्वरूप दिनु नै विकास हो? के हाम्रा सन्ततिले मन्दिरमा संस्कृति र आध्यात्मिकता खोज्ने कि कंक्रीटका भवन?
मन्दिरको संरक्षण आवश्यक छ, तर मन्दिरभित्र अनावश्यक संरचना निर्माण गरेर होइन। मन्दिरलाई मन्दिरकै रूपमा जोगाउनुपर्छ। त्यहाँ पुग्ने मानिसले शान्ति, श्रद्धा र आध्यात्मिक ऊर्जा अनुभूति गर्न सक्नुपर्छ। मन्दिर परिसर प्राकृतिक, सफा, हराभरा र सांस्कृतिक रूपमा आकर्षक हुनुपर्छ।
यसै सन्दर्भमा स्थानीय सरकार र प्रदेश सरकारसमक्ष निम्न कुराहरूमा ध्यानाकर्षण गराउन चाहन्छु:
१. मन्दिर परिसरभित्र निर्माण हुने नयाँ संरचनाका लागि स्पष्ट मापदण्ड तयार गरियोस्।
२. पालिकाको स्वीकृतिबिना जथाभावी निर्माण हुने संरचनामाथि पूर्ण नियन्त्रण गरियोस्।
३. धार्मिक स्थलको मौलिक स्वरूप, वास्तुकला र सांस्कृतिक विशेषता संरक्षणलाई प्राथमिकता दिइयोस्।
४. मन्दिर परिसरमा अनावश्यक कंक्रीट संरचना थप्ने प्रवृत्तिलाई निरुत्साहित गरियोस्।
५. धार्मिक क्षेत्रका बजेटहरू हरियाली, वातावरण संरक्षण, सरसफाइ तथा सांस्कृतिक सम्पदा संरक्षणमा केन्द्रित गरियोस्।
६. सार्वजनिक कार्यक्रम, गोष्ठी, तालिम तथा अन्य गतिविधिका लागि छुट्टै सामुदायिक भवनहरूको विकास गरियोस्, मन्दिर परिसरलाई त्यसका लागि प्रयोग गर्ने प्रवृत्ति कम गरियोस्।
७. विद्यालय, बाल उद्यान, पुस्तकालय, खेलमैदान, सार्वजनिक पार्क तथा ज्येष्ठ नागरिकमैत्री पूर्वाधार निर्माणमा पर्याप्त बजेट सुनिश्चित गरियोस्।
आज हामीले विकासको नाममा धेरै ठाउँहरूमा खुला स्थानहरू गुमाइसकेका छौं। भोलिका पुस्ताले हरियाली, संस्कृति र आध्यात्मिक वातावरणभन्दा बढी कंक्रीटको जंगल मात्र देख्नुपर्ने अवस्था आउनु हुँदैन। त्यसैले समयमै सही नीति, स्पष्ट मापदण्ड र जिम्मेवार निर्णय आवश्यक छ। धर्मको संरक्षण भवनको उचाइले होइन, आस्थाको गहिराइले हुन्छ। मन्दिरको महानता कंक्रीटको आकारमा होइन, त्यसले प्रदान गर्ने शान्ति, संस्कार र आध्यात्मिक अनुभूतिमा हुन्छ।
यस विषयमा स्थानीय सरकार र प्रदेश सरकारले गम्भीर ध्यान दिनेछन् भन्ने अपेक्षा सहित यो खुलापत्र सार्वजनिक गरेको छु।
भवदीय,
ध्रुव प्रसाद अधिकारी
हेटौंडा, मकवानपुर















