हेटौंडा/ गृह मन्त्रालयले देशभर सञ्चालनमा रहेका होटल तथा रेष्टुरेन्टमा खाद्य गुणस्तर र सरसफाइको प्रभावकारी अनुगमन गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।
होटल तथा रेष्टुरेन्टमा उपलब्ध गराइने खानाको गुणस्तर र स्वच्छतासम्बन्धी सर्वसाधारणबाट निरन्तर गुनासा आएपछि मन्त्रालयले नियमित निरीक्षणलाई थप प्रभावकारी बनाउन परिपत्र जारी गरेको हो।
शाखा अधिकृत सापकोटाद्वारा जारी परिपत्रमा नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने गरी अखाद्य, अस्वच्छ वा कानुनविपरीत गतिविधिमा संलग्न व्यक्ति तथा व्यवसायमाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने उल्लेख छ।
मन्त्रालयले प्रत्येक जिल्ला प्रशासन कार्यालयमा हटलाइन वा द्रुत सेवा डेस्कमार्फत गुनासो सुनुवाइ संयन्त्र तत्काल सञ्चालनमा ल्याउन पनि निर्देशन दिएको छ। नागरिकले सहज रूपमा उजुरी दर्ता गर्न सक्ने व्यवस्था मिलाई प्राप्त प्रत्येक गुनासोलाई उच्च प्राथमिकताका साथ तत्काल सम्बोधन गर्न भनिएको छ।
साथै, सामान्य प्रकृतिका गुनासो समाधानका लागि नागरिकले मन्त्रालय वा केन्द्रसम्म धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै स्थानीय प्रशासनलाई नै जिम्मेवार र उत्तरदायी बनाउन मन्त्रालयले जोड दिएको छ।















