मनहरीको बजेटमा पूर्वाधार र सामाजिक विकासलाई प्राथमिकता, ९८ करोडभन्दा बढीको योजना सार्वजनिक

Image

हेटौँडा / मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ९८ करोड ५७ लाख ६३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्दै पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको जनाएको छ।

गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशनमा उपाध्यक्ष सीता पुलामी मगरले प्रस्तुत गरेको बजेट चालु आर्थिक वर्षको तुलनामा करिब १० करोड ८५ लाख रुपैयाँले बढी रहेको छ। चालु वर्षमा गाउँपालिकाले ८७ करोड ७२ लाख ३९ हजार रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ।

आगामी वर्षका लागि विनियोजित कुल बजेटमध्ये ३६ करोड २५ लाख रुपैयाँ पुँजीगत तथा ६२ करोड ३१ लाख रुपैयाँ चालु खर्चतर्फ छुट्याइएको छ। क्षेत्रगत रूपमा हेर्दा पूर्वाधार विकासले सबैभन्दा ठूलो हिस्सा पाएको छ। यस क्षेत्रमा ३४ करोड ९१ लाख ६६ हजार रुपैयाँ विनियोजन गरिएको छ भने सामाजिक विकासका कार्यक्रमका लागि २८ करोड १८ लाख ८ हजार रुपैयाँ छुट्याइएको छ।

शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै २१ करोड १९ लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ। यस अन्तर्गत बालविकास शिक्षक तथा विद्यालय कर्मचारी व्यवस्थापन, विद्यालय बस खरिद र युवा–खेलकुद कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। स्वास्थ्य क्षेत्रमा ४ करोड ८२ लाख ५० हजार रुपैयाँ विनियोजन गर्दै क्यान्सर, मिर्गौला प्रत्यारोपण, डायलाइसिस तथा मेरुदण्ड पक्षघातका विपन्न बिरामीलाई उपचार सहयोग उपलब्ध गराइने भएको छ। स्वास्थ्य बीमा कार्यक्रम र शव वाहन खरिदलाई पनि बजेटले समेटेको छ।

कृषि तथा पशुपालन क्षेत्रलाई उत्पादनमुखी बनाउने लक्ष्यसहित कृषि क्षेत्रमा १ करोड ८१ लाख रुपैयाँ र पशुपन्छी विकासतर्फ २ करोड ३५ लाख रुपैयाँ बजेट छुट्याइएको छ। कृषि औजार वितरण, उत्पादनमा आधारित अनुदान, बाली बीमा, शीतभण्डार भाडा सहुलियत तथा भूमिहीन किसानका लागि जग्गा भाडा अनुदान कार्यक्रम सञ्चालन गरिनेछ। पशुपालनतर्फ दूध उत्पादनमा प्रोत्साहन अनुदान तथा पशु रोग नियन्त्रण कार्यक्रमलाई निरन्तरता दिइने भएको छ।

पूर्वाधार विकास अन्तर्गत मनहरी–८ र ९ जोड्ने सडक, लोथर–पाङ्थली सडक स्तरोन्नति, वडा कार्यालय भवन निर्माण तथा गाउँपालिकाको प्रशासकीय भवन सम्पन्न गर्ने योजना समावेश गरिएको छ। संघीय, प्रदेश र स्थानीय स्रोतबाट पूर्वाधार क्षेत्रमा मात्रै ३४ करोड रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ।

आम्दानीतर्फ गाउँपालिकाले नदीजन्य पदार्थ (दहत्तर–बहत्तर) बिक्रीबाट २६ करोड ७४ लाख ८२ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। यस्तै संघीय सरकारबाट विभिन्न शीर्षकमा ३६ करोड ८१ लाख रुपैयाँ तथा प्रदेश सरकारबाट ६ करोड २६ लाख ४१ हजार रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ। आन्तरिक स्रोत र बैंक मौज्दातबाट ४ करोड १५ लाख ७० हजार रुपैयाँ जुटाइने योजना छ।

रोजगार, महिला सशक्तीकरण, बालबालिका संरक्षण तथा सामाजिक समावेशीकरणका कार्यक्रमलाई समेत बजेटले समेटेको छ। वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ दमकल खरिद, विपद् कोष सञ्चालन, डढेलो नियन्त्रण, वृक्षरोपण तथा फोहोर व्यवस्थापन कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

गाउँपालिका नेतृत्वले प्रस्तुत बजेटले विकास निर्माणसँगै शिक्षा, स्वास्थ्य र उत्पादनमूलक क्षेत्रको विस्तारमार्फत समृद्ध मनहरी निर्माणको आधार बलियो बनाउने विश्वास व्यक्त गरेको छ। बजेटमाथि विस्तृत छलफल गरी पारित गर्न गाउँसभाको अर्को बैठक असार १३ गते बस्ने तय भएको छ।