हेटौंडा/ टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाको आयोजना, वडा नं. २ कार्यालयको सहयोग र टोल विकास संस्था वडा समन्वय समिति वडा नं. २ को व्यवस्थापनमा तीन दिने नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम आजदेखि सुरु भएको छ।
जिल्ला समन्वय समिति मकवानपुरको सभाहलमा आयोजित तालिम उद्घाटन कार्यक्रम टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष विष्णु गोपाल महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका सचिव चन्द्रावती अधिकारी, सुशीला मल्ल, सदस्य लिना पौडेल, टोल विकास संस्था वडा समन्वय समिति वडा नं. २ की उपाध्यक्ष चन्डिका गौतमको आतिथ्यता रहेको कार्यक्रममा सहजकर्ता रिपेश दाहाल लगायतले गर्नुभएको छ ।
तालिममा वडा नं. २ भित्रका विभिन्न टोल विकास संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरू गरी करिब ४५ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ। सहभागीहरूलाई नेतृत्व विकास, संस्थागत क्षमता अभिवृद्धि, समुदाय परिचालन, स्थानीय समस्या समाधान तथा सामाजिक उत्तरदायित्व सम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिनेछ।
कार्यक्रमलाई सम्बोधन गर्दै टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले टोल विकास संस्थाहरू स्थानीय विकासका आधारस्तम्भ भएको उल्लेख गर्दै समुदायको सक्रिय सहभागिता बिना दिगो विकास सम्भव नभएको बताए।
उनले टोल विकास संस्थाका पदाधिकारीहरूको क्षमता अभिवृद्धि गर्दै स्थानीय स्तरमा सुशासन, सरसफाइ, वातावरण संरक्षण, महिला सशक्तीकरण तथा सामाजिक सचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे। यस्ता तालिमहरूले नेतृत्व क्षमताको विकाससँगै समुदायमा सकारात्मक परिवर्तन ल्याउन मद्दत पुग्ने उनको भनाइ थियो।
प्रमुख अतिथि वडा अध्यक्ष विष्णु गोपाल महर्जनले टोल विकास संस्थाहरू वडा कार्यालयका महत्वपूर्ण साझेदार भएको उल्लेख गर्दै स्थानीय सरकार र समुदायबीचको सम्बन्धलाई अझ मजबुत बनाउन यस्ता कार्यक्रम आवश्यक रहेको बताए। उनले टोल विकास संस्थाहरूले विकास निर्माण, सामाजिक अभियान, वातावरण संरक्षण तथा नागरिक सहभागिता वृद्धि गर्न खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा वडा कार्यालयबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे।
तीन दिनसम्म सञ्चालन हुने उक्त तालिमले सहभागीहरूको नेतृत्व क्षमता विकास गर्दै टोल विकास संस्थाहरूलाई अझ प्रभावकारी र सशक्त बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।















