हेटौंडा/ मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिक महेन्द्र राजमार्गमा जंगली जनावरले बाटो काट्दा एक EV गाडी दुर्घटनामा परेको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्।
आज दिउँसो करिब १२:५० बजे वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ज ०४६९ नम्बरको EV गाडी अचानक जंगली जनावर बाटोमा आएपछि चालकले गाडी नियन्त्रण गर्न खोज्दा सडकको बाँया साइडमा पल्टिएको प्रहरीले जनाएको छ।
दुर्घटनाको समयमा गाडीमा चालकसहित ८ जना सवार रहेका थिए। दुर्घटनामा नुवाकोट तादी गाउँपालिका–३ निवासी ४२ वर्षीया सिता सुनार, सोही स्थानकी ५५ वर्षीया राधा सुनार, भारतको बिहार राज्य दरभंगा जिल्ला निवासी २४ वर्षीय क्यामुल हक, पर्साको वीरगञ्ज महानगरपालिका–१५ निवासी २३ वर्षीय रवि कुमार गुप्ता, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ निवासी ४८ वर्षीय पासाङ लामा तथा काठमाडौंको दक्षिणकाली नगरपालिका–५ निवासी २७ वर्षीय कृष्ण तामाङ घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घाइते सबैलाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ। गाडी चालक काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० निवासी ५६ वर्षीय दिलिप सिलिवाल प्रहरी नियन्त्रणमा रहेका छन्।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी रातोमाटे तथा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा पुगेको थियो। दुर्घटनाबाट गाडीमा क्षति पुगेको भए पनि महेन्द्र राजमार्गमा सवारी आवागमन भने अवरुद्ध नभएको प्रहरीले जनाएको छ।















