हेटौंडा\ मकवानपुरको कैलाश गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीलाई लक्षित गरी तीन दिने स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली तालिम सुरु भएको छ । गाउँपालिकामा स्वास्थ्य क्षेत्रमा सक्रिय रहेको प्रेम सेवा समाजद्धारा आयोजित तीन दिने तालिम सोमबार एक कार्यक्रमका बीच उद्धघाटन गरिएको हो । समाजका अध्यक्ष मीरा स्याङ्तानको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रमको सुरुवात गरिएको हो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले गाउँपालिकाको स्वास्थ्यका सम्पूर्ण स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा राख्दै आइरहेको बताए । वडागत स्वास्थ्य प्रमुखलाई स्वास्थ्य क्षेत्रमा गरिने कार्यलाई चुस्त दुरुस्त राख्न गाउँपालिकाले ट्याब वा ल्याबटपको व्यवस्था समेत गरेको अध्यक्ष मुक्तानले बताए । गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा विभिन्न कार्य गर्दै आइरहेको छ । विशेषत् पोषण प्याकेज कार्यक्रमले आमा र बच्चाको लागि स्वास्थ्य सुरक्षा भइरहेको छ ।
सबै वडामा स्वास्थ्य पहुँच पुगेको बताउँदै डाक्टर सहित १० शैयाको आधारभूत अस्पताल सञ्चालन समेत भइरहेको छ । आवश्यकता अनुसार वर्थिङ सेन्टर, सुत्केरीलाई आतेजाते निशुल्क एम्बुलेन्स सेवा प्रवाह गरिरहेका छौं । उनले भने, शिक्षा र स्वास्थ्यका कार्यक्रमले दिएको नतिजाले सर्सतमा आउने बजेट समेत वृद्धि भएको अवस्था छ । सामाजिक सञ्जालले भ्रमित सूचना सम्प्रेषणले समाजमा द्धन्दको सिर्जना हुने अवस्था भइसकेको छ । त्यसतर्फ समाज रुपान्तरण र सोच विचार परिवर्तनमा प्रेम सेवा समाजले कदम चाल्नु पर्ने बताए ।
कार्यक्रममा उपाध्यक्ष बालकुमार मल्लले समाजले गाउँपालिका भित्र स्वास्थ्य क्षेत्रमा गरेको कामको प्रशंसा गर्दै आगामी दिनहरुमा पनि गाउँपालिकाको साथ सहयोग र सहकार्य रहने बताए । यहाँको भूगोललाई नजिकबाट चिनेको संस्थाको रुपमा रहेकाले स्वास्थ्य, समाज रुपान्तरणका लागि काम गरिएको बताए । तालिमले थप ज्ञान र सीप बढ्दछ । सीप पश्चात आफ्नो कार्य स्थलमा कार्यान्वयन गर्न उनले आग्रह गरे । अनलाईन प्रणालीमा डाटा वेशको तालिमले थप सेवा प्रवाहमा सहजता पुग्ने विश्वास लिएको बताए ।
कार्यक्रममा थाहानगरपालिकाका पूर्व उपमेयर खड्ग गोपाली, कार्यक्रममा प्रशिक्षक सुजन श्रेष्ठ, सिडीईइएफका कार्यक्रम संयोजक भवानी प्रधान, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतम, प्रेम सेवा समाजका सचिव रामसिं प्रजा, कार्यक्रम संयोजक जानुका कान्दवा लगायतको आतिथ्यता रहेको थियो ।
कैलाशका स्वास्थ्य शाखा, र सबैवडाका स्वास्थ्य चौकीका इन्चार्जहरुको सहभागितामा भएको तीन दिने तालिममा स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली, डाटा प्रविष्टि तथा तथ्याङ्क डिजिटललाइज्ड÷ व्यवस्थापन, सार्वजनिक सम्पति व्यवस्थापन प्रणालीको प्रयोग, व्यवस्थापन र यसको समुचित व्यवस्थापन सम्बन्धी ज्ञान, सीप अभिवृद्धि गरिने प्रशिक्षक सुजन श्रेष्ठले बताए ।














