हेटौंडा। टोल विकास नगर समन्वय समिति मकवानपुरका अध्यक्ष धुर्व प्रसाद अधिकारीले चितवन मेडिकल कलेज (सीएमसी) मा छोरीको उपचारका क्रममा भोग्नुपरेको अनुभव सार्वजनिक गर्दै स्वास्थ्य सेवा प्रणालीलाई थप सहज, व्यवस्थित र सेवामैत्री बनाउन आग्रह गर्नुभएको छ।
सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव साझा गर्दै अधिकारीले उपचारका लागि बिहान ९ बजेदेखि बेलुकी करिब ४:३० बजेसम्म अस्पतालमा बिताउँदा उपचारसँगै सेवाप्रवाह, व्यवस्थापन र प्रशासनिक प्रक्रियाका विभिन्न कठिनाइहरू भोग्नुपरेको उल्लेख गर्नुभएको छ।
उहाँका अनुसार अस्पतालमा बिरामीको अत्यधिक चाप, विशेषगरी बिलिङ तथा लेखा शाखामा लामो लाइन र भीडका कारण सेवाग्राहीले सास्ती व्यहोर्नुपरेको थियो। नेपाल सरकारले लागू गरेको नयाँ करसम्बन्धी सफ्टवेयरबारे कर्मचारीहरू नै पर्याप्त जानकार नभएको जस्तो देखिएको र त्यसको प्रत्यक्ष असर सेवाग्राहीमा परेको उहाँको भनाइ छ।
उपचारका क्रममा चिकित्सकले सिफारिस गरेको एउटा परीक्षण हुन नसकेपछि रकम फिर्ता (रिफन्ड) लिन खोज्दा डाक्टर, प्रशासन, ल्याब र अन्य शाखाहरूबीच पटक–पटक धाउनुपरेको अनुभव पनि उहाँले साझा गर्नुभएको छ। करिब आधा घण्टा विभिन्न शाखामा धाउँदा पनि प्रक्रिया पूरा नभएपछि रकम नै फिर्ता नलिई घर फर्किनुपरेको उहाँले उल्लेख गर्नुभएको छ।
अधिकारीले यही क्रममा आफ्नो कक्षा ९ मा अध्ययनरत छोरी लामो समय लाइनमा बस्दा बेहोस भएको घटनासमेत सार्वजनिक गर्नुभएको छ। उपचारका लागि अस्पताल पुगेका बिरामी र उनका परिवारले उपचारभन्दा बढी भीड, लाइन र प्रशासनिक प्रक्रियाको झन्झट भोग्नुपर्ने अवस्था दुःखद रहेको उहाँको भनाइ छ।
उहाँले स्वास्थ्य सेवामा लागू गरिएको ३ प्रतिशत करप्रति पनि नागरिक असन्तुष्ट रहेको उल्लेख गर्दै स्वास्थ्यजस्तो आधारभूत सेवामा थप आर्थिक भार थपिँदा त्यसअनुसार सेवा पनि छिटो, सरल, व्यवस्थित र गुणस्तरीय हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ। सरकार परिवर्तनसँगै नियम, प्रक्रिया र कर प्रणाली बारम्बार परिवर्तन हुँदा नागरिक अन्योलमा पर्ने अवस्था अन्त्य गर्नुपर्ने उहाँको सुझाव छ।
अधिकारीले चितवन मेडिकल कलेजलाई सेवा सुधारका लागि आठ बुँदे सुझावसमेत दिनुभएको छ। जसमा बिरामीको चापअनुसार थप बिलिङ तथा सेवा काउन्टर सञ्चालन, नयाँ प्रणाली लागू गर्नुअघि कर्मचारीलाई पर्याप्त तालिम, रिफन्ड प्रक्रियालाई एकद्वार प्रणालीमार्फत सञ्चालन, विभाग–विभाग धाउन नपर्ने व्यवस्था, सम्मानजनक र स्पष्ट सेवाप्रवाह, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा टाढाबाट आएका सेवाग्राहीका लागि विशेष सहजीकरण, एकीकृत बिलिङ प्रणाली तथा अत्यधिक भीड हुने स्थानमा पर्याप्त बस्ने ठाउँ, पिउने पानी र प्राथमिक उपचारको व्यवस्था गर्नुपर्ने सुझाव समावेश छन्।
अन्त्यमा उहाँले स्वास्थ्य सेवा व्यापारभन्दा माथि मानव जीवनसँग जोडिएको संवेदनशील दायित्व भएकाले सेवाग्राहीले अस्पतालबाट पीडा होइन, विश्वास लिएर घर फर्किने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग आग्रह गर्नुभएको छ।














