बैतडी । पाटन नगरपालिका–९ स्थित श्री सिद्धेश्वर माध्यमिक विद्यालयमा प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन, समीक्षा तथा अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पाटन नगरपालिका शिक्षा शाखाका प्रतिनिधि बिर्खराज भट्ट, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक, शिक्षक–कर्मचारी तथा विद्यार्थीहरूको संयुक्त उपस्थितिमा दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा विद्यालयको शैक्षिक अवस्था, सिकाइ उपलब्धि र आगामी कार्ययोजनामाथि विस्तृत समीक्षा गरिएको हो।
कार्यक्रममा विद्यार्थीहरूको उत्तरपुस्तिका अभिभावकलाई हस्तान्तरण गरी सिकाइ उपलब्धिबारे प्रत्यक्ष छलफल गरिएको थियो। साथै शिक्षकहरूको कक्षा समय उपस्थितिको अभिलेख, शैक्षिक सामग्री निर्माण तथा प्रयोगसम्बन्धी अभिलेख, विद्यार्थीका समस्या र प्रगतिबारे अभिभावकलाई तत्काल जानकारी गराइएका फोन संवादहरूको अभिलेखसमेत प्रस्तुत गरिएको थियो। कार्यक्रममा अभिभावक तथा विद्यार्थीबाट प्रधानाध्यापकको कार्यसम्पादनसम्बन्धी गोप्य मूल्याङ्कन समेत गरिएकोमा नतिजा सन्तोषजनक रहेको जनाइएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिंह भाटले विद्यालयलाई अझ अनुशासित, पारदर्शी र गुणस्तरीय बनाउने अभियानमा अभिभावकको सक्रिय सहभागिता उत्साहजनक रहेको बताउँदै विद्यालयको शैक्षिक सुधारका लागि सबै पक्षको सहकार्य निरन्तर रहने उल्लेख गरे। विद्यालयको समग्र शैक्षिक वातावरण सुधार, नियमित अनुगमन र अभिभावकसँगको प्रत्यक्ष समन्वयले सकारात्मक परिणाम दिन थालेको उनको भनाइ थियो।
प्रधानाध्यापक प्रकाश सिंह महराले समीक्षा कार्यक्रमबाट प्राप्त सुझावका आधारमा विद्यार्थीहरूको अङ्ग्रेजी भाषिक क्षमता अभिवृद्धि गर्न भदौ १ गतेदेखि दैनिक एक घण्टा अतिरिक्त अङ्ग्रेजी माध्यममा बोलिचाली अभ्यास (Spoken English) सञ्चालन गरिने जानकारी दिए। उक्त कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक व्यवस्थापन प्रक्रिया अगाडि बढाइसकिएको र आगामी दिनमा सिकाइ उपलब्धिलाई अझ प्रभावकारी बनाउने विभिन्न कार्यक्रम सञ्चालन गरिने उनले बताए।
पाटन नगरपालिका शिक्षा शाखाका प्रतिनिधि बिर्खराज भट्टले विद्यालयले अपनाएको पारदर्शी शैक्षिक अभ्यास, उत्तरपुस्तिका अभिभावकलाई हस्तान्तरण गर्ने व्यवस्था, नियमित अभिलेख व्यवस्थापन तथा अभिभावकसँगको निरन्तर समन्वय प्रशंसनीय रहेको बताए। यस्ता अभ्यासले विद्यालयप्रतिको विश्वास बढाउनुका साथै विद्यार्थीको सिकाइ उपलब्धिमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास उनले व्यक्त गरे।
कार्यक्रममा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो भने सहभागीहरूले विद्यालयले अघि सारेका सुधारका प्रयासप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गर्दै आगामी दिनमा पनि विद्यालयसँग सहकार्य गर्दै गुणस्तरीय शिक्षाका लागि योगदान दिने प्रतिबद्धता जनाएका थिए।












