मानवीय सेवाको उदाहरण बने हेटौंडाका टोल विकास संस्थाहरू

Image

हेटौंडा/ रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार तथा पुनर्स्थापनाका लागि हेटौंडाका टोल विकास संस्थाहरूले रु. १८ लाख ८६ हजार ६०४ सहयोग गरेका छन्। टोल विकास संस्थाहरू नगर समन्वय समितिको समन्वयमा विभिन्न टोल विकास संस्थाबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरिएको हो।

संकलित रकमको एकमुष्ट भौचर आज हेटौंडामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बसन्तराज अधिकारीलाई हस्तान्तरण गरिएको छ। रकम हस्तान्तरण कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारी, उपाध्यक्ष विष्णुप्रसाद ढुंगाना, उपमहासचिव देवकुमार श्रेष्ठ, कोषाध्यक्ष गीता मैनाली, सचिव सुशीला मल्ल, सदस्यहरू सुरेश लामिछाने र यदुवंश खतिवडा, वडा समन्वय समिति हेटौंडा ८ का अध्यक्ष कुमार केसी, कालिकामाई टोल विकास संस्थाका अध्यक्ष रामप्रसाद गिमिरे, कार्यालय सचिव ईशा शर्मा लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बसन्तराज अधिकारीले विपद्को समयमा टोल विकास संस्थाहरूले देखाएको सक्रियता र सहयोग प्रशंसनीय रहेको बताउनुभयो। उहाँले विपद्को यस्तो कठिन समयमा हेटौंडाका टोल विकास संस्थाहरूले एकजुट भएर गरेको सहयोग मानवीयताको उत्कृष्ट उदाहरण हो। प्रत्येक व्यक्तिसम्म पुगेर संकलन गरिएको रकमले पीडित नागरिकप्रतिको आत्मीयता र सामाजिक उत्तरदायित्व देखाएको छ। उहाँले संकलित रकमले बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापनामा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। विपद्को समयमा सरकारी निकायसँगै समुदाय र सामाजिक संस्थाहरूको सहकार्य अझ महत्वपूर्ण हुने उहाँको भनाइ थियो।

टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले सहयोग अभियानमा सहभागी भई रकम संकलन गर्ने सम्पूर्ण टोल विकास संस्था, पदाधिकारी, सदस्य तथा सहयोगी मन भएका नागरिकहरूलाई हार्दिक धन्यवाद एवं कृतज्ञता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “यो रकम केवल आर्थिक सहयोग मात्र होइन, विपद्मा परेका दाजुभाइ तथा दिदीबहिनीप्रति हेटौंडाका नागरिकले देखाएको मानवीय भावना र एकताको प्रतीक हो।

सहयोग अभियानमा जोडिनुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।” टोल विकास संस्थाहरूले विपद्को समयमा राहत तथा पुनर्स्थापनाका लागि आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।