हेटौंडा । डेंगी रोकथामबारे जनचेतना फैलाउन हेटौंडा उपमहानगरपालिकाले सचेतनामूलक रील प्रतियोगिता आयोजना गरेको छ।
‘डेंगीविरुद्ध सचेत समुदाय : डेंगी रोकथाम अभियान’ अन्तर्गत आयोजना गरिएको प्रतियोगितामा हेटौंडामा बसोबास गर्ने स्थायी तथा अस्थायी नागरिकले सहभागिता जनाउन सक्नेछन्।
सहभागीले डेंगीका लक्षण, रोकथाम, नियन्त्रण तथा बच्ने उपाय समेटिएको बढीमा तीन मिनेटको रील फेसबुकमा सार्वजनिक गर्नुपर्नेछ। रीलमा उपमहानगरपालिकाको आधिकारिक फेसबुक पेजलाई ट्याग गरी फलो गर्नुपर्नेछ भने आयोजकले तोकेको गुगल फाराम पनि भर्नुपर्नेछ।
प्रतियोगितामा लाइक, कमेन्ट र सेयरबाट प्राप्त अंकसँगै निर्णायक मण्डलको मूल्याङ्कनका आधारमा विजेता छनोट गरिनेछ। प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ४ हजार, २ हजार र १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
प्रतियोगितामा सहभागी हुन २०८३ असोज २० गतेसम्म रील सार्वजनिक गरिसक्नुपर्ने उपमहानगरपालिकाले जनाएको छ।















