हेटौंडा । मकवानपुरमा घरजग्गा कारोबार तथा ‘हनिट्र्याप’सँग जोडिएका आर्थिक शोषणका गुनासा बढ्दै गएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउने तयारी गरिएको छ।
सेवा सहयोग आवाज हामीका अध्यक्ष तथा सामाजिक अभियन्ता बिशाल राज महतका अनुसार थोरै रकम दिएर करोडौँ मूल्यका घरजग्गा हडपिएको दाबी गर्ने तथा हनिट्र्यापका कारण आर्थिक र सामाजिक रूपमा पीडित भएको बताउने व्यक्तिहरूबाट नियमित रूपमा गुनासा आउने गरेका छन्।
पीडितका समस्या सुन्ने, आवश्यक परामर्श दिने र सम्बन्धित निकायसँग समन्वयको प्रयास गर्दै आएको महतले बताए। उनका अनुसार यस्ता घटनालाई व्यक्तिगत विवादका रूपमा मात्र नहेरी प्रमाण संरक्षण, कानुनी प्रक्रिया र पीडितको न्यायमा पहुँचका विषयमा गम्भीर पहल आवश्यक छ।
यसै विषयमा मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई औपचारिक रूपमा जानकारी गराउँदै पीडितका गुनासामाथि आवश्यक सहजीकरण र समन्वयका लागि आग्रह गर्ने तयारी रहेको महतले बताए।
उनले सत्यतथ्य छानबिन गरी कानुनी प्रक्रियामार्फत समस्या समाधान हुनुपर्नेमा जोड दिँदै अभियान कुनै व्यक्तिविशेषको पक्षमा नभई पीडितको न्यायका लागि केन्द्रित रहेको बताए।
















