फोहोर उठाउने समय र छुट्याउने प्रणालीमा जोड, हेटौँडा–४ ले थाल्यो टोलस्तरीय समन्वय

Image

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–४ ले घरबाट निस्कने फोहोरको उचित व्यवस्थापन र संकलन प्रणाली सुधार गर्न टोल विकास संस्थासँग समन्वय थालेको छ।

वडा कार्यालयमा आयोजित छलफलमा फोहोर संकलनका क्रममा देखिएका समस्या, कुहिने तथा नकुहिने फोहोर छुट्याउने अभ्यास र संकलन सेवाको प्रभावकारिताबारे टोल विकास संस्थाका प्रतिनिधिसँग छलफल गरिएको हो।

प्रतिनिधिहरूले फोहोर छुट्याएर व्यवस्थापन नगर्दा टोल तथा छिमेकमा दुर्गन्ध फैलिने समस्या रहेको बताएका थिए। उनीहरूले फोहोरको प्रकृतिअनुसार छुट्याउने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्।

वडा अध्यक्ष नवीन सिग्देलले फोहोर संकलन गर्ने संस्थाले सम्झौता र निर्धारित मापदण्डअनुसार सेवा दिनुपर्ने बताए। उनले फोहोर संकलनका लागि टोलमा पुग्दा नागरिकलाई जानकारी गराउन साइरन वा अन्य संकेतको व्यवस्था गर्न सुझाव दिए।

सिग्देलले फोहोर संकलन हुने समयअनुसार घर तथा वरपरको फोहोर समयमै गाडीमा राख्न टोलवासीलाई आग्रह गर्दै सेवा प्रवाहमा समस्या देखिए सम्बन्धित व्यक्तिसँग समन्वय गर्न अनुरोध गरे।

उनका अनुसार फोहोरमैला व्यवस्थापन प्रभावकारी बनाउन वडा कार्यालय, टोल विकास संस्था, संकलन गर्ने संस्था र नागरिकबीच निरन्तर समन्वय आवश्यक छ।

हेटौँडा–४ मा हाल २६ वटा टोल विकास संस्था रहेका छन्। वडा कार्यालयले टोलस्तरबाट आएका समस्या र सुझावका आधारमा फोहोरमैला व्यवस्थापन सुधार गर्ने उद्देश्यले समन्वय बैठक आयोजना गरेको जनाएको छ।