महाधिवेशन प्रतिनिधिमा निर्वाचित डिनाको अब महामन्त्री वा उपसभापतिमा दाबी

Image

हेटौंडा । नेपाली काँग्रेसकी निवर्तमान केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ १५औँ महाधिवेशनका लागि मकवानपुर क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन्।

खुलातर्फ भएको निर्वाचनमा डिनाले ८३२ मत प्राप्त गर्दै अत्यधिक मतसहित प्रतिनिधि चयन भएकी हुन्। उनले २१ जना पुरुष उम्मेदवारसँग प्रतिस्पर्धा गरेकी थिइन्।

महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि डिनाले आफूलाई मतदान तथा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेकी छन्। आगामी महाधिवेशनमा आफ्नो उम्मेदवारीबारे उनले अब सहमहामन्त्रीभन्दा माथिल्लो जिम्मेवारीमा जाने तयारी रहेको बताइन्।

“सबै नेता तथा नेतृत्वसँग छलफल भइरहेको छ। महामन्त्री वा उपसभापति पदमा मेरो उम्मेदवारी रहनेछ,” उनले भनिन्।

डिना १४औँ महाधिवेशनबाट नेपाली काँग्रेसको केन्द्रीय सहमहामन्त्रीमा निर्वाचित भएकी थिइन्। १५औँ महाधिवेशनका लागि मकवानपुर क्षेत्र नम्बर २ को सभापतिमा रञ्जन कालाखेती र क्षेत्र नम्बर १ को सभापतिमा सुशान्तकुमार श्रेष्ठ निर्वाचित भएका छन्।