अडियो–भिडियो प्रकरणमा खगेन्द्र सुनारको स्पष्टीकरण : ‘त्यो पात्र म होइन, ममाथि छानबिन होस्’

Image

काठमाडौं । खगेन्द्र सुनारले सामाजिक सञ्जालमा सार्वजनिक भएको भनिएको अडियो–भिडियोमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै आफूमाथि निष्पक्ष छानबिन गर्न माग गरेका छन्।

सुनारले आफूले गरिबका छोराछोरीको जुत्ता–मोजासँग जोडिएको विषय र भ्रष्टाचारबारे निर्भीक रूपमा आवाज उठाउँदै आएको बताएका छन्। त्यसै क्रममा आफूसँग नजिक रहेका साथीभाइ तथा साइनो सम्बन्धमा रहेका व्यक्तिहरूलाई समेत जोडेर मुद्दामा तान्ने र मिडियामार्फत बदनाम गर्ने प्रयास भएको उनको आरोप छ।

“अहिले सामाजिक सञ्जालमा जे अडियो–भिडियो भनेर आएको छ, त्यसमा मेरो कुनै संलग्नता छैन। त्यो पात्र म होइन। हामीले बोलेका छैनौँ, केही गरेका पनि छैनौँ,” उनले भनेका छन्।

उनले प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई) वा अन्य माध्यम प्रयोग गरेर आफूलाई फसाउने प्रपञ्च भइरहेको दाबीसमेत गरेका छन्। आफूले भोग्नुपर्ने पीडा सहन तयार रहेको उल्लेख गर्दै उनले जनताका प्रश्नको सामना गर्न आफू तयार रहेको बताएका छन्।

“म जनताको प्रश्नको कठघरामा उभिन तयार छु। ममाथि छानबिन होस्,” उनले भनेका छन्। साथै, कानुनी राज्यमा बर्दी, बन्दुक र हतकडीको दुरुपयोग गरेर कसैलाई पनि दुःख दिन नहुने उनको भनाइ छ।