हेटौंडा । हेटौंडा उपमहानगरपालिका–४ का वडा अध्यक्ष नवीन सिग्देलले सरकारी सेवाबाट अवकाश प्राप्त गरेका अनुभवी कर्मचारीलाई आफ्नो ज्ञान, सीप र अनुभव सामाजिक सेवामा उपयोग गर्न आग्रह गरेका छन्।
हेटौंडा–४ मा कार्यरत वरिष्ठ सहायक कृष्णबहादुर पोख्रेलले ५८ वर्ष उमेर पूरा गरी अनिवार्य अवकाश प्राप्त गरेपछि आयोजित बिदाइ कार्यक्रममा बोल्दै अध्यक्ष सिग्देलले अनुभवी व्यक्तिहरू समाजका महत्त्वपूर्ण सम्पत्ति भएको बताएका हुन्।
स्थानीय तहका विभिन्न क्षेत्रमा लामो समय काम गरेर हासिल गरेको अनुभव अवकाशसँगै सीमित हुन नहुने उल्लेख गर्दै उनले सामाजिक विकास र जनताको सेवामा समेत योगदान पुर्याउन आग्रह गरे। अनुभवी व्यक्तिको व्यावहारिक ज्ञान र कार्यदक्षतालाई सामाजिक कार्यमा उपयोग गर्न सके समाजले लाभ लिन सक्ने उनको भनाइ थियो।
अध्यक्ष सिग्देलले कर्मचारीको वरिष्ठतासँगै अनुभव, कार्यदक्षता र व्यावहारिक ज्ञानलाई पनि महत्त्व दिनुपर्ने धारणा राखे। अनुभवी व्यक्तिहरूसँग समन्वय र सहकार्य गरेर अघि बढ्दा कार्यसम्पादन प्रभावकारी हुनुका साथै सेवा प्रवाहमा समेत सकारात्मक परिणाम आउने उनले बताए।
लामो समय स्थानीय तहको सेवामा रहेर जिम्मेवारी निर्वाह गरेका वरिष्ठ सहायक पोख्रेलको योगदानको कदर गर्दै आयोजित बिदाइ कार्यक्रममा वडा सचिव रामप्रसाद गुरागाईंसहित वडा कार्यालयमा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो।

















