हेटौँडा–१५ मा रमेश–सुमन स्मृति ब्याडमिन्टन सम्पन्न

Image

हेटौँडा । रसुवा बाढीमा ज्यान गुमाएका मकवानपुरका युवा स्व. रमेश मगर र स्व. सुमन गोलेको स्मृतिमा आयोजित वडा अध्यक्ष कप–२०८३ ब्याडमिन्टन प्रतियोगिताको दुवै विधाको उपाधि हेटौँडा–५ ले जितेको छ।

हेटौँडा–१५ को आयोजनामा हटियास्थित कभर्डहलमा मङ्गलबार सम्पन्न अन्तरवडास्तरीय प्रतियोगिताको खुल्ला विधामा बिरु गुरुङ र नरेन्द्र मोक्तानको जोडी प्रथम हुँदा हेटौँडा–२ का रेबती कार्की र इन्द्र कार्कीको जोडी उपविजेता बन्यो।

भेट्रान्स विधामा हेटौँडा–५ का नरेन्द्र मोक्तान र राजकुमार राईको जोडी प्रथम तथा हेटौँडा–६ का बिनोद राई र भिम तिमल्सिनाको जोडी दोस्रो भयो।

समापन समारोहमा बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले तीनै तहका सरकारको सहकार्यले खेलकुद विकास र खेलाडीको प्रतिभा प्रस्फुटनमा सहयोग पुग्ने बताउनुभयो। वडा अध्यक्ष सुनिल मोक्तानले प्रतियोगिताले दिवङ्गत युवाको स्मृतिलाई जीवन्त राख्नुका साथै सामाजिक एकता र खेलकुदमार्फत नेपाललाई देशविदेशमा चिनाउन योगदान पुर्‍याउने बताउनुभयो।

प्रतियोगितामा १९ वटै वडाका २४ टोली सहभागी थिए। विजेता तथा उपविजेतालाई ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो।