हेटौँडा। मकवानपुरको भीमफेदी गाउँपालिका–१ बादरेभीरस्थित हेटौँडा–भैँसे सडकखण्डमा ईभी गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शनिबार दिउँसो करिब १२ः३० बजे काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ज ०६७४ नम्बरको भाडाको ईभी गाडी सडकको दाहिनेतर्फको भित्तामा ठोक्किएर बायाँतर्फको नालामा खसेको थियो।
दुर्घटनामा रौतहटको दुर्गाभगवती गाउँपालिका–१ का ५० वर्षीय हरि साह गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि चितवनस्थित सीएमसी अस्पताल रिफर गरिएको छ।
त्यस्तै, दुर्घटनामा रौतहट र भारतको बिहारस्थित मोतिहारीका यात्रुहरू घाइते भएका छन्। घाइतेमध्ये केहीको हेटौँडा अस्पतालमा उपचार गरिएको थियो।
हरि साहसँगै रहेका उनकी छोरीहरू चन्दा कुमारी साह र शिवा कुमारी साह तथा नातिनातिना पनि थप उपचारका लागि चितवनस्थित सीएमसी अस्पताल गएका छन्।















