हेटौँडा/ कुनै समय दसैँको आगमनसँगै गाउँघरमा देखिने रोटे पिङ र लिङ्गे पिङ पछिल्लो समय हराउँदै जान थालेका छन्। आधुनिक मनोरञ्जनका साधनको बढ्दो प्रयोगसँगै ओझेलमा पर्दै गएको यही मौलिक परम्परालाई पुनर्जीवित गर्न हेटौँडा उपमहानगरपालिका–९ मा रोटे पिङ निर्माण गरिएको छ।
दसैँलाई परम्परागत शैलीमा रमाइलो बनाउने र नयाँ पुस्तालाई पुर्खाको संस्कृतिसँग जोड्ने उद्देश्यले रोटे पिङ निर्माण गरिएको हो। वडाध्यक्ष सुकराम केसीको पहलमा निर्माण गरिएको पिङले स्थानीयवासीमा उत्साह थपेको छ।
वडाध्यक्ष केसीले रोटे पिङ मनोरञ्जनको साधन मात्र नभई नेपाली मौलिक संस्कृति र पहिचानको प्रतीकसमेत भएको बताए। नयाँ पुस्ताले पुराना परम्परा बिर्संदै गएको अवस्थामा संस्कृतिको संरक्षण गर्दै पुस्तान्तरण गर्न आफूले यसको निर्माणमा पहल गरेको उनको भनाइ छ।
पहिले दसैँका बेला गाउँघरमा रोटे पिङ र लिङ्गे पिङ हाल्ने तथा सामूहिक रूपमा रमाइलो गर्ने चलन थियो। पिङ खेल्ने बहानामा गाउँलेबीच भेटघाट र आत्मीयता बढ्ने गरे पनि पछिल्लो समय यस्ता परम्परा क्रमशः हराउँदै गएका छन्।
हेटौँडा–९ मा रोटे पिङ निर्माण भएपछि बालबालिकादेखि युवासम्म र ज्येष्ठ नागरिकमा समेत उत्साह थपिएको छ। यसले पुराना पुस्तालाई विगतका दसैँको सम्झना गराउने र नयाँ पुस्तालाई परम्परागत संस्कृतिको महत्व बुझाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
आधुनिकतासँगै हराउँदै गएका मौलिक परम्परालाई व्यवहारमै जोगाउने प्रयासका रूपमा हेटौँडा–९ को यो पहललाई हेरिएको छ।















