काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको अन्तिम खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा हुने खेलमा नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले टस जितेर ब्याटिङ रोजेका हुन्। नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ। अर्जुन कुमालको स्थानमा देव खनाललाई प्लेइङ–११ मा समावेश गरिएको छ।
लिग–२ को अंकतालिकामा शीर्ष ६ मा स्थान बनाउन नेपाललाई यो खेल जित्नुपर्ने दबाब छ। शृङ्खलाका सुरुवाती दुई खेलमा नेपालले क्यानडा र ओमानलाई पराजित गरेको थियो। तर, शनिबार भएको खेलमा नेपाल क्यानडासँग पराजित भएपछि अंकतालिकामा सातौँ स्थानमा झरेको थियो।
क्यानडाले नेपाललाई हराएपछि ३६ खेलबाट २९ अंक जोड्दै छैटौँ स्थानमा उक्लिएको छ। नेपालले ३५ खेलबाट २८ अंक जोडेको छ। आज ओमानलाई पराजित गर्न सके नेपाल पुनः छैटौँ स्थानमा उक्लिनेछ। लिग–२ को शीर्ष ६ मा रहने टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने सम्भावना बलियो हुने भएकाले नेपालका लागि यो खेल महत्त्वपूर्ण छ।
नेपालको प्लेइङ–११: सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आसिफ शेख, देव खनाल, इशान पाण्डे, बसिर अहमद, गुल्शन झा, करण केसी, नन्दन यादव र ललित राजवंशी।
















