चाडपर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछन् : मुख्यमन्त्री थापा मगर

Image

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बडादशैं, तिहार, नेपाल संवत् तथा छठ पर्वले सामाजिक सद्भाव, आपसी एकता र राष्ट्रिय पहिचानलाई बलियो बनाउने बताएका छन्।

चाडपर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री थापा मगरले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।

उनले विभिन्न जातजाति, भाषा, धर्म, संस्कृति र परम्परासँग जोडिएका चाडपर्वले आपसी भाइचारा, सहिष्णुता र सहअस्तित्वको भावना सुदृढ बनाउँदै आएको उल्लेख गरेका छन्। चाडपर्वले समाजमा प्रेम, सहयोग र सद्भाव अभिवृद्धि गर्दै समुन्नत तथा समावेशी समाज निर्माणका लागि प्रेरणा प्रदान गर्ने विश्वाससमेत व्यक्त गरेका छन्।

यस वर्षका चाडपर्व मनाइरहँदा प्राकृतिक विपद्का कारण उत्पन्न पीडा र कठिनाइलाई पनि गम्भीरतापूर्वक स्मरण गर्नुपर्ने उनले बताएका छन्। विशेषगरी भोटेकोसी तथा बूढीगण्डकीमा आएको बाढीबाट प्रभावित नागरिकको पीडाप्रति ऐक्यबद्धता जनाउँदै उनीहरूको जीवन सामान्य अवस्थामा फर्काउन प्रदेश सरकारले काम गरिरहेको सन्देशमा उल्लेख छ।

मुख्यमन्त्री थापा मगरले विपद् प्रभावित नागरिकको उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका कार्यलाई प्राथमिकताका साथ अघि बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।
उनले बडादशैं, तिहार, नेपाल संवत् तथा छठलगायत सम्पूर्ण चाडपर्वको पुनः हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।