बागमतीका मौलिक भाषा संरक्षणका लागि कानुनी प्रक्रिया अघि बढाइने

Image

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपाल भाषासहित प्रदेशमा प्रचलनमा रहेका मौलिक भाषाको संरक्षण, संवर्द्धन र व्यावहारिक प्रयोगलाई प्रभावकारी बनाउन आवश्यक कानुनी प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

बिहीबार काठमाडौंस्थित नेपाल भाषा मंकाः खलःको कार्यालय निरीक्षण तथा भाषा, कला, संस्कृति र मौलिक पहिचानको संरक्षणसम्बन्धी छलफलका क्रममा मुख्यमन्त्री थापा मगरले भाषा ऐनअनुसार आवश्यक नियमावली तथा कार्यविधि निर्माणको प्रक्रिया अघि बढाइने बताउनुभएको हो।

उहाँले भाषा र संस्कृति कुनै समुदायको विगतको सम्पदा मात्र नभई भावी पुस्ताको पहिचानसँग समेत जोडिएको उल्लेख गर्नुभयो। भाषा, लिपि, कला, संस्कृति र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

‘हाम्रा भाषा, लिपि, कला, संस्कृति र परम्परा केवल विगतका सम्पदा मात्र होइनन्, भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने अमूल्य पहिचान पनि हुन्,’ मुख्यमन्त्री थापा मगरले भन्नुभयो, ‘यिनको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणका लागि बागमती प्रदेश सरकार प्रतिबद्ध छ।’