हेटौँडा–८ मा श्रीमान् मृत फेला, श्रीमती घाइते

Image

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ भावना मार्गमा श्रीमान् मृत र श्रीमती घाइते अवस्थामा फेला परेका छन्।

प्रहरीका अनुसार कात्तिक ६ गते बिहान घरभित्र श्रीमान् शंकर कार्की, अन्दाजी ४५–४६ वर्षका, झुण्डिएको अवस्थामा र श्रीमती चरिमाया कार्की, अन्दाजी ४० वर्षकी, भान्सा कोठामा घाइते अवस्थामा फेला परेका हुन्।

घरको ढोका भित्रबाट बन्द रहेको सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। ढोका फोडेर हेर्दा श्रीमान् मृत अवस्थामा र श्रीमती घाइते अवस्थामा फेला परेकी थिइन्। घाइते महिलाको मुख, टाउको र दुवै खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। उनको अवस्था मध्यम रहेको छ।

महिलालाई उद्धार गरी हेटौँडा अस्पताल लगिएकोमा थप उपचारका लागि चितवन लगिएको छ। घटनास्थलमा रगत लागेको ढुङ्गाको लोहोरो र इँटा फेला परेको प्रहरीले जनाएको छ।

घटनाको थप अनुसन्धानका लागि प्रहरी टोली परिचालन गरिएको छ। घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।