हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसेस्थित सुन्दरी मोडमा बुधबार बिहान भएको सुमो दुर्घटनामा मृत्यु भएका तीन जना र घाइते सात जनाको पहिचान खुलेको छ।
बुधबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट भैँसेतर्फ जाँदै गरेको ना.१ ज २१४३ नम्बरको सुमो दुर्घटनामा परेको थियो।
दुर्घटनामा मृत्यु हुनेमा रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–४ निवासी २५ वर्षीया अनुसा लामा, २०/२२ वर्षीया जेशिका भन्ने अस्मिता तिमल्सिना र चन्द्रनिगाहपुर–३ निवासी ५० वर्षीय बमबहादुर वाईबा रहेका छन्।
त्यस्तै, दुर्घटनामा घाइते हुनेमा सुमो चालक चन्द्रनिगाहपुर–४ निवासी ३३ वर्षीय कालुमान लोप्चन, चन्द्रनिगाहपुर–३ निवासी १६ वर्षीया निमा थिङ, ५८ वर्षीय कान्छा धोज थिङ, १५ वर्षीया सुमिना थिङ, १६ वर्षीया सिखा लामा, ५५ वर्षीया हरिमाया थिङ र १९ वर्षीय वेयहान राना मगर रहेका छन्।
प्रहरीका अनुसार घाइते सातै जनाको अवस्था मध्यम रहेको छ। उनीहरूको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोलीले उद्धार गरेको थियो।
















