काठमाडौं । लामो प्रतीक्षापछि कर्णाली प्रदेशमा आयोजना हुन लागेको १०औं राष्ट्रिय खेलकुद का खेलहरू आज (मंगलबार) देखि सुरु हुँदैछन्। प्रतियोगिताको औपचारिक उद्घाटन भने आगामी मंसिर १६ गते सुर्खेतस्थित रंगशालामा हुने तय भएको छ भने समापन मंसिर २७ गते हुनेछ।
दशौं राष्ट्रिय खेलकुदको प्राविधिक समितिबाट अनुमोदित तालिकाअनुसार औपचारिक उद्घाटनअघि नै केही खेलका प्रतिस्पर्धा सुरु गरिएका हुन्। आजदेखि पुरुष तथा महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडीलगायतका खेल सञ्चालन हुनेछन्। पुरुष र महिला दुवै क्रिकेट सुर्खेतस्थित क्रिकेट मैदानमा सुरु हुनेछन् र उद्घाटन समारोहभन्दा एक दिनअघि अर्थात् मंसिर १५ गते नै दुवैको फाइनल खेल हुने तालिका छ। पुरुष फुटबलको प्रारम्भिक चरण सुर्खेतको मुख्य रंगशालामा हुने भए पनि सेमिफाइनल र फाइनल जुम्लामा खेलाइनेछ। यस्तै, सुर्खेतको मुख्य रंगशालास्थित कोर्टमा महिला बास्केटबल, बर्दियामा टेनिस तथा नेपालगञ्जमा पौडीका स्पर्धा सुरु हुनेछन्, जसमा पौडी र महिला बास्केटबलका अधिकांश स्पर्धा उद्घाटनअघि नै सकिनेछन्।
प्रतियोगितामा समावेश कुल ३२ खेल मध्ये २३ खेल सुर्खेत मै सञ्चालन हुने तय भएको छ। एथ्लेटिक्स, क्रिकेट, फुटबल, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टेबल टेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, ह्यान्डबल, स्क्वास, बास्केटबल, आर्चरी, भारत्तोलन, रग्बी, साइक्लिङ, ईस्पोर्ट्स र सेपाकताक्रो सुर्खेतमा हुनेछन्। बाँकी खेलहरू विभिन्न जिल्लामा बाँडिएका छन्, जसअनुसार बर्दियामा टेनिस र खो खो, सल्यानमा जुडो र कुस्ती, रुकुम पश्चिममा शारीरिक सुगठन, दैलेखमा आईटीएफ तेक्वान्दो, कालिकोटमा बुद्धिचाल तथा नेपालगञ्ज (बाँके) मा पौडी र सुटिङका खेल हुनेछन्।
प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सम्पूर्ण तयारी पूरा गरिएको छ र विभिन्न प्रदेश तथा विभागीय टोलीका खेलाडीहरू पुग्ने क्रम जारी छ। सोमबार वीरेन्द्रनगर रंगशाला हस्तान्तरण तथा उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले गरेका थिए। प्रतियोगिताको प्रचारप्रसारका लागि मुख्यमन्त्री, मन्त्री, सांसद, राष्ट्रिय खेलकुद परिषद् (राखेप) तथा प्रदेश खेलकुद परिषद्का पदाधिकारी, खेलाडी र स्थानीयको सहभागितामा सांस्कृतिक झाँकीसहित र्यालीसमेत निकालिएको थियो। सात प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपिएफ) र एनआरएनए गरी ११ टोली सहभागी हुने ३२ खेलका ३८४ इभेन्ट्सको यस प्रतियोगितामा पदक विजेतालाई राखेपले नगद पुरस्कारको व्यवस्थासमेत गरेको छ।













