हेटौंडा/ मकवानपुरको भीमफेदी गाउँपालिका–१ रातोमाटेमा घर खानतलासी गर्ने क्रममा प्रहरीले दुई थान भरुवा बन्दुक बरामद गरेको छ। बन्दुक बरामद भएपछि प्रहरीले घरधनीलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर, वडा प्रहरी कार्यालय हेटौँडा र प्रहरी चौकी भैँसेबाट खटिएको संयुक्त प्रहरी टोली कुटपिट घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा पक्राउका लागि रातोमाटे पुगेको थियो।
सोही क्रममा मंसिर ८ गते साँझ करिब ६ बजे स्थानीय ३५ वर्षीय पञ्चबहादुर थिङको घरमा खानतलासी गर्दा खाटमुनि बोराभित्र लुकाएर राखिएको दुई थान भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ।
बन्दुक फेला परेपछि इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक सनम मल्लको कमाण्डमा सोको (SOCO) सहितको अनुसन्धान टोली घटनास्थल पुगेको थियो। टोलीले बरामदी मुचुल्का तयार गरी बन्दुकसहित थिङलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याएको हो।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
कुटपिटका आरोपी खोज्दै गएको प्रहरी टोलीले घरबाट दुई थान भरुवा बन्दुक फेला पार्यो

नयाँ प्रकाशित
# ट्रेण्डिङ













