दलीय व्यवस्थामा व्यक्ति होइन, संस्था प्रधान : हेटौँडा–४ का अध्यक्ष नवीन सिग्देल

Image

हेटौंडा/ दलीय व्यवस्थामा व्यक्तिभन्दा संस्था, व्यक्तिगत स्वार्थभन्दा जनहित र भाषणभन्दा कामलाई प्राथमिकता दिनुपर्ने धारणा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देलले व्यक्त गरेका छन्।

उनले दलीय व्यवस्थामा उम्मेदवारहरू पार्टीको चुनाव चिह्न, झण्डा र घोषणापत्रसहित जनतामाझ पुग्ने भएकाले निर्वाचित भएपछि पनि पार्टीको नीति, विचार, सिद्धान्त र जनतासँग गरिएका प्रतिबद्धताअनुसार काम गर्नुपर्ने बताएका छन्।

जनप्रतिनिधि पार्टीको प्रतिनिधिका रूपमा निर्वाचनमा प्रतिस्पर्धा गर्ने र निर्वाचित भएपछि जनताको जिम्मेवारी निर्वाह गर्ने भएकाले व्यक्ति संस्थाभन्दा माथि हुन नसक्ने उनको भनाइ छ। संस्थाको नीति, विचार, मार्गदर्शन र सामूहिक उद्देश्यअनुसार व्यक्तिले भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै उनले जनप्रतिनिधिको काम, व्यवहार र कार्यसम्पादनबाट पार्टीको मूल्याङ्कन हुनुपर्ने बताएका छन्।

विकास साझा विषय भएको भन्दै सिग्देलले जनताका आवश्यकता, अपेक्षा र सरोकारलाई सम्बोधन गर्न सबै जनप्रतिनिधि क्रियाशील हुनुपर्ने धारणा राखेका छन्। जनताको हित र सेवाभन्दा माथि व्यक्तिगत स्वार्थ हुन नसक्ने भन्दै उनले राजनीतिको मुख्य उद्देश्य जनसेवा हुनुपर्नेमा जोड दिएका छन्।

उनले एमालेको राजनीतिक पहिचान विचार, व्यवहार, कार्यशैली र जनताप्रतिको जिम्मेवारीबाट स्थापित हुनुपर्ने उल्लेख गर्दै जनताको सेवकका रूपमा काम गरेर उत्कृष्टता प्रदर्शन गर्नुपर्ने बताएका छन्।

‘व्यक्ति होइन, संस्था प्रधान; कुरा होइन, काम प्रधान; व्यक्तिगत स्वार्थ होइन, जनताको हित प्रधान’ भन्ने मूल सन्देशसहित सिग्देलले दलीय व्यवस्थामा संस्थागत जिम्मेवारी, विचार र सामूहिक कार्यसम्पादनलाई प्राथमिकता दिनुपर्ने धारणा अघि सारेका छन्।