हेटौंडा । हेटौंडा उपमहानगरपालिका–५ पिप्ले चोक नजिक रहेको द डोर होटलमा आगलागी हुँदा करिब ४३ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
मंगलबार राति करिब ११ः३० बजे होटलको भान्साकोठा (किचन) र हलमा आगलागी भएको हो। आगलागीको खबर प्राप्त हुनासाथ सानो पोखरा प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।
स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। राति करिब १२ः२० बजे आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
आगलागीको यकिन कारण खुल्न नसकेको भए पनि विद्युत् तार सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
आगो निभाउने क्रममा होटल सञ्चालक २९ वर्षीय आशिष गौतम र दमकल कर्मचारी ३५ वर्षीय नवीन नेपालको हात सामान्य पोलिएको छ। उनीहरूको स्थानीय मेडिकलमा सामान्य उपचार गरिएको र अन्य मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
आगलागीबाट होटलको किचन र हलमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका छन्। होटल सञ्चालकका अनुसार कोठासहित करिब ४३ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ।












