हेटौंडामा ३८ करोडभन्दा बढीको सहलगानी खानेपानी आयोजना अघि बढ्दै

Image

हेटौंडा/ हेटौंडाको खानेपानी सेवा विस्तार तथा पूर्वाधार सुधारका लागि ३८ करोड ९१ लाख रुपैयाँभन्दा बढीको सहलगानी आयोजना अघि बढाइएको छ। सिमलटार, हटिया र रातोमाटे क्षेत्रमा सञ्चालन हुने खानेपानी तथा सरसफाइ आयोजना (स्कीम–२) अन्तर्गत विभिन्न वडामा नयाँ संरचना निर्माण र पाइपलाइन विस्तारका लागि बोलपत्र आह्वान गरिएको हो।

नेपाल सरकार, खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भरतपुर, चितवनले हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड र हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा ३८ करोड ९१ लाख २७ हजार रुपैयाँ बराबरको बोलपत्र आह्वान गरेको छ।

आयोजनाअन्तर्गत हेटौंडा–१ मा दुईवटा समवेल, ट्रिटमेन्ट प्लान्ट र ३ लाख लिटर क्षमताको भूमिगत पानी भण्डारण ट्यांकी निर्माण गरिनेछ। वडा नं. २ मा कार्यालय भवन निर्माण, वडा नं. ३ मा समवेल, २ लाख लिटर क्षमताको भूमिगत ट्यांकी र १० किलोमिटर पाइपलाइन विस्तार गरिने योजना छ।

त्यस्तै, वडा नं. ६ मा डिप ट्युबवेल, ३ लाख लिटर क्षमताको भूमिगत ट्यांकी र ४ किलोमिटर पाइपलाइन विस्तार गरिनेछ। वडा नं. ७ मा डिप ट्युबवेल र ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्यांकी निर्माण हुनेछ।

वडा नं. १४ मा ३६ किलोमिटर पाइपलाइन विस्तार गरिनेछ भने वडा नं. १६ मा डिप ट्युबवेल र ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्यांकी निर्माण गरिनेछ।

वडा नं. १८ को हर्नामाडीमा डिप ट्युबवेल तथा ४ लाख लिटर क्षमताको भूमिगत पानी ट्यांकी निर्माण गरिनेछ। आरमपुर भोर्लेमा पनि डिप ट्युबवेल निर्माण र २ किलोमिटर पाइपलाइन विस्तार गरिने योजना रहेको छ।

आयोजनाअन्तर्गत आवश्यक अन्य पूर्वाधार निर्माण तथा विद्युतीकरणका कामसमेत सञ्चालन गरिने जनाइएको छ।