काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले घरेलु मैदानमा आयोजना हुन लागेको ‘आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ, २०२६’ का लागि १५ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ।
आगामी डिसेम्बर ४ देखि २१ तारिखसम्म काठमाडौंमा सञ्चालन हुने यस प्रतियोगिताका लागि लेगस्पिनर सन्दीप लामिछानेको कप्तानीमा टोली सार्वजनिक गरिएको हो। टोलीमा सन्दीपसँगै पूर्वकप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, करण केसी, गुल्सन झा, ललितनारायण राजवंशी, देव खनाल, अर्जुन कुमाल, इशान पाण्डे, राशिद खान, बसिर अहमद, नन्दन यादव र अभिषेश गौतमले स्थान बनाएका छन्।
नेपालसहित ८ राष्ट्रको सहभागिता
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा आयोजना हुने यस एकदिवसीय (ओडीआई) प्रतियोगितामा आयोजक नेपालसहित कुल ८ राष्ट्रको सहभागिता रहनेछ। प्रतियोगितामा नेपालसँगै क्यानडा, नामिबिया, यूएई, जर्सी, कुवेत, इटाली र युगान्डाले प्रतिस्पर्धा गर्नेछन्।सिंगल राउन्ड रोबिन लिगका आधारमा खेलिने यस प्रतियोगिताको शीर्ष चारमा रहने टोलीले सन् २०२७ मा दक्षिण अफ्रिका, जिम्बावे र नामिबियामा संयुक्त रूपमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपको ग्लोबल छनोट मा स्थान सुरक्षित गर्नेछन्। नेपालले प्रतियोगिताको उद्घाटन खेलमा डिसेम्बर ४ तारिखका दिन त्रिवि क्रिकेट मैदानमा इटालीको सामना गर्नेछ।
नेपाली टोली:
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, अर्जुन कुमाल, इशान पाण्डे, देव खनाल, कुशल भुर्तेल, राशिद खान, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी र अभिषेश गौतम।

















