२० पुस, काठमाडौं । माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रक्रिया सरु भएको छ । आज पहिलो दिन मनोनयन दर्ताको कार्यक्रम थियो । राजनितिक दलहरुले आज तामझामका साथ आयोगको कार्यालय पुगेर उम्मेदवारी दर्ताका गराएका छन् । सातवटै प्रदेशस्थित निर्वाचन कार्यालयमा आज बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको कार्यक्रम थियो ।
उक्त निर्वाचनका लागि १२ राजनीतिक दल दर्ता भएका छन् । आयोगले पुस २० गते उम्मेदवारी दर्ता, २१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने समय छुट्याएको छ ।
त्यस्तै २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ । सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने आयोगको कार्यतालिका छ ।
सातै प्रदेशका उम्मेदवार को–को र मताभार कति ?
प्रदेश १
प्रदेश १ मा राष्ट्रियसभा सदस्य पदका लागि ३ पदका लागि ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अन्तिम समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले २ जनाको उम्मेदवारी दर्ता गराएसँगै ८ जना पुगेका हुन् । यसअघि सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका गोपाल बस्नेत, नेकपा (एकीकृत समाजवादी)की जयन्ती राई र जनता समाजवादी पार्टी (जसपा) का हेमराज थुलुङ राईले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी नेकपा एमालेबाट गुरुप्रसाद बराल, सुमित्रा भण्डारी र सोनाम ग्याल्जेन शेर्पाले उम्मेदवारी दर्ता गराएका छन् ।
राप्रपाका तर्फबाट झापाका अमर विष्टले खुला र रञ्जु प्याकुरेलले महिलातर्फ उम्मेदवारी दर्ता गराएका छन् । राप्रपामा प्रदेशसभाका एक सांसद र स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष गरी ४ जनाको मत भार १ सय २० रहेको छ । राप्रपाले अपाङ्गता तथा अल्पसंख्यकतर्फ भने उम्मेदवारी दिएको छैन ।
प्रदेश २
राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश २ मा २ सिटका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा पुगेर सत्तारूढ गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) की उर्मिला अर्यालले उम्मेदवारी दर्ता गराएकी छन् । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट रुपा यादव र श्यामसुन्दर सरदारले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
लोसपा नेपालबाट यादवलाई प्रदेशसभा सदस्य रानी शर्मा तिवारीले प्रस्ताव र परमेश्वर साहले समर्थन गरेका छन् भने सरदारलाई अभिराम शर्माले प्रस्ताव र गौरीनारायण शाहले समर्थन गरेका छन् । त्यस्तै माओवादी केन्द्रबाट उम्मेदार बनेकी अर्यालको प्रस्तावक नगिना यादव र समर्थक सीता साह रहेका छन् । त्यसैगरी जसपा नेपालबाट अन्य समूह कोटामा मोहम्मद खालिद सिद्धिकीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै नेकपा एमालेको तर्फबाट महिला कोटामा बिनादेवी साह र अन्य समूहबाट उस्मान अन्सारीले उम्मेदवारी दर्ता गराएका छन् ।
साहको प्रस्तावक अनिलकुमार यादव र समर्थक गणेश राउत रहेका छन् भने अन्सारीको प्रस्तावक तारादेवी लामा र समर्थक रामपृत महतो रहेका छन् । एमालेले सुरुमा माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका असर्फी भिनवार यादवलाई उम्मेदवार बनाउने निधो गरेपनि अन्तिमसमयमा अन्सारीलाई उम्मेदवारी दर्ता गर्न लगाएको हो ।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य पदका लागि ६ जनाले मनोनयन दर्ता गराएका छन् । दाङस्थित लुम्बिनी प्रदेश निर्वाचन अधिकृतको कार्यालयमा चार राजनीतिक दलबाट ६ जनाको उम्मेदवारी दर्ता भएको प्रदेश निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिनुभयो । नेकपा एमालेको तर्फबाट दाङका रामदयाल गुप्ता, गुल्मीका कृष्ण सुनार, बाँकेका भारती उपाध्याय खनालले मनोनयन दर्ता गराएको भट्टराईले बताउनुभयो ।
त्यसैगरी, कांग्रेसको तर्फबाट बाँकेका युवराज शर्मा, जनमोर्चाको तर्फबाट रुपन्देहीका कुल प्रसाद विश्वकर्मा र नेकपा (एकिकृत समाजवादी)को तर्फबाट पाल्पाका राजेन्द्रलक्ष्मी गैरेले मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ता गराएकाहरूको सूचि मंगलबार प्रकाशन गरिनेछ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा ८१ जना प्रदेश सांसद र २ सय १५ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी जम्मा २ सय ९६ मतदाता रहेका छन् ।
बागमती प्रदेश
आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य पदका लागि बागमती प्रदेशबाट ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । बागमती प्रदेश अन्तर्गत दुई सीटका लागि हुने उक्त निर्वाचनका लागि महिलातर्फ ३ जना र अन्यतर्फ ३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
राष्ट्रियसभा सदस्य निर्वाचनका सत्तारुढ गठबन्धन, प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र नेमकिपाबाट २÷२ जनाले उम्मेदवारी दर्ता गराएका हुन् राष्ट्रियसभाको निर्वाचनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा गठबन्धनमा छन् भने एमाले र नेमकिपा एक्लाएक्लै चुनावी मैदानमा छन् । गठबन्धनका तर्फबाट नेपाली काँग्रेसबाट काठमाडौंका कृष्णप्रसाद पौडेल र महिलातर्फको एक सदस्यका लागि नेकपा एकीकृत समाजवादी पार्टीबाट मकवानपुरकी गोमा तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै प्रमुख प्रतिपक्ष नेकपा नेकपा एमालेबाट ललितपुरका गोपाल शाक्य र महिलातर्फ सिन्धुलीकी निरकुमारी कुँवर दर्लामीले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशमा ३४६ मतदाता छन् । जसमा १०९ जना प्रदेशसभा सदस्य र २३७ जना स्थानीय तहका प्रतिनिधि छन् ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा राष्ट्रियसभा सदस्यको लागि राजनैतिक दलहरूले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशमा राष्ट्रियसभा सदस्यको ३ पदमा हुने निर्वाचनका लागि नेकपा एमाले नेता कार्यकर्तासहित निर्वाचन आयोगको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएको थियो । एमालेले खुलामा कास्कीका पुण्यप्रसाद पौडेललाई उम्मेदवार बनाएको छ । त्यसैगरी महिला कोटामा नवलपुरकी लीला थनेतलाई उम्मेदवार बनाएको छ भने दलित कोटामा स्याङ्जाका अर्जुनकुमार सोनाम उम्मेदवार बनाएको छ ।
त्यसैगरी काँग्रेस, माओवादी केन्द्र लगायतका अन्य दलहरूले पौने तीन बजे निर्वाचन आयोग पुगेर उम्मेदवारी दर्ता गराएका छन् । गण्डकीमा गठबन्धनका दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी लगायतका दलका तर्फबाट सुरेश आलेमगर,दलित कोटामा भुवन सुनार र कमला पन्तलाई उम्मेदवार बनाएको छ । गण्डकीमा गठबन्धनमा माओवादीका तर्फबाट तनहुँका सुरेश आलेमगर र दलित कोटामा भुवन सुनार उम्मेदवार बनेका छन् भने कांग्रेसका तर्फबाट महिला कोटामा गोरखाकी कमला पन्तलाई उम्मेदवार बनाएको छ ।
कर्णाली प्रदेश
राष्ट्रिय सभा सदस्यका लागि कर्णाली प्रदेशबाट ६ जनाले मनोनयन दर्ता गराएका छन् । माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि कर्णाली प्रदेशबाट एमालेका तीन जना र सत्ता गठबन्धन दलबाट तीन जनाले उम्मेदवारी दिएका छन् । यो निर्वाचनबाट कर्णाली प्रदेशबाट तीन जना सदस्य चयन हुनेछन् । कर्णाली प्रदेशमा खुला, महिला र अपांगता वा अल्पसंख्यकतर्फको सदस्य पद रिक्त हुँदैछ ।
हाल प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गरिरहेका रूकुम पश्चिमका खगेन्द्र पुरी, हुम्लाका कविता बोगटी र कालीकोटका जीवन बुढाको पदावधि सकिँदैछ । पुरी र बोगटी नेकपा एमालेका नेता हुन् भने बुढा नेकपा माओवादी केन्द्रका नेता हुन् । यसपटक उक्त पदमा एमालेबाट महिलामा जुम्लाकी गंगा थापा महत, खुलामा सुर्खेतका चुँडामणि शर्मा र अपांगता वा अल्पसंख्यक कोटामा दैलेखका पदमबहादुर माझीले उम्मेदवारी दर्ता गराएका छन् ।
नेकपा एमालेले एकलौटी उम्मेदवारी दिएपछि सत्तागठबन्धन दलहरूले भागबण्डा अनुसार उम्मेदवारी दिएका छन्। जसअनुसार कर्णालीमा महिलातर्फ नेपाली कांग्रेस, अपांगतातर्फ माओवादी केन्द्र र खुलामा नेकपा (एकीकृत समाजवादी) ले भाग पाएका छन् । महिलातर्फ कांग्रेसबाट सुर्खेतकी दुर्गाकुमारी गुरूङको मनोनयन दर्ता भएको छ ।
अपांगतातर्फ सुर्खेतकै माओवादी केन्द्रका नरबहादुर विष्ट र खुलातर्फ समाजवादीबाट सल्यानका उदय बोहराले उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनका उम्मेदवारमध्ये विष्ट यसअघिका संविधान सभा सदस्य हुन् । कर्णाली प्रदेशमा राष्ट्रिय सभा सदस्य चुनावमा मतदान गर्न जम्मा १९१ मतदाता छन् । उनीहरूको मतभार ४ हजार ४८८ छ ।
सुदूरपश्चिम प्रदेश
माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट चार राजनीतिक दलका ६ जनाले मनोनयन दर्ता गरेका छन् । राष्ट्रिय सभाका तीन सदस्यका लागि सुदूरपश्चिमबाट नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)ले प्रदेश निर्वाचन कार्यालय, कैलालीमा मनोनयन दर्ता गरेका हुन् ।
विहान १० देखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएकोमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट महिलातर्फ कैलालीकी सन्तोषकुमारी शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुल्लातर्फ डोटीका डिल्लीराज भट्टले मनोनयन दर्ता गरिएको जिल्ला न्यायाधीश एवं निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिनुभयो ।
यस्तै गठबन्धनका तर्फबाट भने नेपाली कांग्रेसको तर्फबाट खुलामा कैलालीका नारायण मिश्र, माओवादी केन्द्रका तर्फबाट दलितमा डडेल्धुराका जगत पार्की र एकीकृत समाजवादीका तर्फबाट महिलामा गरिमा शाहले मनोनयन दर्ता गरेका हुन् । तीन पदका लागि ५२ जना प्रदेशसभा सदस्य र एक सय ७५ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी दुई सय २७ जना मतदाता रहेका छन् ।















