काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतक तथा अविनाश बोहराको तीन विकेटप्रेरित नेपालले चारदेशीय शृङ्खलाको ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ओमानलाई ६ विकेटले हराएको छ ।
ओमानको मस्कटस्थित अल अमारतको ओमान क्रिकेट एकेडेमी मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए । त्यसपछि ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३५ रन बनाएको हो । १३६ रनको लक्ष्य नेपालले १९.३ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो ।
नेपालका लागि दीपेन्द्रसिंहले अविजित ७३ रन बनाए । दीपेन्द्रसिंहले ५३ बलमा आठ चौका र एक छक्कासहित अविजित ७३ रन बनाए । उनले आरिफ शेखसँग चौथो विकेटका लागि ४५ रनको साझेदारी गरे । आरिफ शेखले २५ रन बनाए । आरिफले २० बलमा तीन चौकासहित २५ रन बनाए ।
दीपेन्द्रले शरद भेषावकरसँग पाँचौँ विकेटका लागि ३० रन अविजित साझेदारी गरे । शरद चार रनमा अविजित रहे । आसिफ शेखले १४ रन बनाए । ज्ञानेन्द्र मल्लले १३ रन बनाए ।
ओमानका कालीमुल्लाहले दुई र खवार अलीले एक विकेट लिए ।
ओमानका कप्तान जीशन मक्सुद र मोहम्मद नादीमले पाँचौँ विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए । मक्सुदले अविजित ४३ रन बनाए भने नादीमले ३१ रन बनाए । मक्सुदले ४१ बलमा चर चौका र एक छक्कासहित अविजित ४३ रन बनाएका हुन् । जतिन्दर सिंहले १३ रन बनाए । कश्यप प्रजापति, शोएब खान र आयान खानले समान ११ रन बनाए ।
नेपालका अविनाश बोहराले तीन विकेट लिए । सन्दीप, आरिफ शेख र कमलसिंह ऐरीले एक/एक विकेट लिए ।














