हेटौंडा / आयुर्वेद सम्बन्धी दिवस तथा स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार कार्यक्रमअन्तर्गत पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयको आयोजनामा तथा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मकवानपुरको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मकवानपुरकी कार्यालय प्रमुख डा. सृष्टि श्रेष्ठले चिकित्सालयबाट ३५ प्रकारका औषधि निःशुल्क उपलब्ध गराइँदै आएको जानकारी दिनुभयो। उहाँले प्रत्येक सोमबार बिहान ८ बजेदेखि १० बजेसम्म ३० वर्षभन्दा माथिका व्यक्तिहरूका लागि विभिन्न स्वास्थ्य समस्याको निःशुल्क स्वास्थ्य परीक्षण सेवा सञ्चालन गरिँदै आएको पनि बताउनुभयो।
साथै आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपुरबाट एक वर्षमा १७ हजारभन्दा बढी नागरिकले सेवा लिएकाको श्रेष्ठले बताउनुभयो ।
अन्तरक्रियामा आयुर्वेदिक उपचार पद्धतिको महत्व, स्वस्थ जीवनशैलीको प्रवर्द्धन, रोगको रोकथाम तथा आयुर्वेद सम्बन्धी जनचेतना अभिवृद्धिका विषयमा छलफल गरिएको थियो। साथै सञ्चारमाध्यममार्फत आयुर्वेद सेवाको प्रभावकारी प्रचार–प्रसार, सही सूचना प्रवाह तथा जनचेतना विस्तारमा पत्रकारहरूको भूमिकाबारे पनि अन्तरक्रिया गरिएको थियो।
कार्यक्रममा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष अर्जुन ढकाल, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मकवानपुरकी कार्यालय प्रमुख डा. सृष्टि श्रेष्ठ तथा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो यस्तै कार्यक्रममा मकवानपुरका सक्रिय पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
















