हेटौंडाको रातोमाटेमा बस पल्टिँदा ९ यात्रु घाइते

Image

हेटौंडा/ मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिक महेन्द्र राजमार्गमा आज अन्दाजी ११:१५ बजे यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।

प्रहरीका अनुसार जनकपुरबाट पोखरातर्फ जाँदै गरेको ना.६ ख.७४५७ नम्बरको बस अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो। बस चालक महोत्तरी स्थायी वतन भई हाल धनुषाको जनकपुर उपमहानगरपालिका–८ बस्ने अन्दाजी ५० वर्षीय धनिराम बि.क. रहेका छन्।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी रातोमाटे र इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले उद्धार कार्य सञ्चालन गरेको थियो। बसमा सवार अन्दाजी ३०/३५ यात्रुमध्ये ९ जना घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ। उनीहरूको अवस्था सामान्य रहेको छ।

दुर्घटनापछि बस सडकमा पल्टिएकाले हटाउन क्रेनसँग समन्वय भइरहेको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ। दुर्घटनाका कारण महेन्द्र राजमार्गमा सवारी आवागमन भने अवरुद्ध भएको छैन।