हेटौंडा/ सत्तारुढ दलभित्र देखिएको असन्तुष्टिका कारण केही समय प्रभावित बनेको बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट अन्ततः प्रदेश सभाबाट बहुमतले पारित भएको छ।
शनिबार बसेको प्रदेश सभा बैठकले आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रस्तुत गरेको आर्थिक विधेयक, २०८३ ध्वनि मतका आधारमा स्वीकृत गरेको हो। उपसभामुख अप्सरा चापागाईंले विधेयक पारित भएको घोषणा गरेकी थिइन्।
प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट ल्याएको थियो। गत असार १ गते प्रस्तुत गरिएको बजेटमाथि असार १६ गतेदेखि निरन्तर छलफल भएको थियो। बजेट पारित गर्ने क्रममा सत्तारुढ नेपाली कांग्रेसभित्रकै असन्तुष्टिका कारण कार्यसूची केही समय प्रभावित बने पनि अन्ततः बहुमतका आधारमा बजेटले प्रदेश सभाको अनुमोदन पाएको हो।
















