काठमाडौं।
युएईमा जारी आईसीसी विश्वकप लिग टूमा नेपालले युएईसँग हार ब्यहोरेको छ। शुक्रबार भएको खेलमा नेपालले युएईसँग ४८ रनको पराजय ब्यहोरेको हो। युएईले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपाल ३१.१ ओभरमा सबै विकेट गुमाउँदै १२० रनमा समेटियो।
नेपालका रोहित पौडेलले सर्वाधिक ४६ रनको योगदान गरे । यस्तै ज्ञानेन्द्र मल्ल २८ तथा कुशल भूर्तेलले ११ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् ।
नेपाललाई सस्तैमा समेट्ने क्रममा युएईका बसिल हमिदले सर्वाधिक ४ विकेट हात पारे । यस्तै जुनाईद सेद्धिकीले ३ विकेट लिँदा जाहुर खान र रोहन मुस्तफाले एक/एक विकेट हात पारे ।
यसअघि टस जितेर सुरुवाती ब्याटिङ गरेको घरेलु टोली युएईले ४६ दशमलब ३ ओभरमा अलआउट हुँदै १ सय ६८ रन बनायो। युएईका चुन्दन गोपाल रिजवान र रोहन मुस्ताफाले सर्वाधिक समान ४०/४० रन जोडे ।
मोहम्मद वासिमले २१ रनको योगदान गर्दा बसिल हामिदले १४ रन बनाए। नेपालका सोमपाल कामीले सर्वाधिक ४ विकेट लिए। यस्तै करण केसीले ३ विकेट हात पार्दा दिपेन्द्र सिंह ऐरी,सागर ढकाल र सन्दीप लामिछानेले एक/एक विकेट लिए।
यसैबीच नेपाल यूएईसँग हारेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले एक ट्वीट गरेको छ। उसले यूएईको प्रशंसा गरेको छ। उसले यूएईले उत्कृष्ट बलिङ गरेको भन्दै प्रशंसा गरेको हो।
आईसीसीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ, ‘आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज भएको खेलमा यूएईको उत्कृष्ट बलिङले नेपाललाई ४८ रनले पराजित गरेको छ।’
हारेपछि सन्दीपको प्रतिक्रिया
यूएईसँगको म्याच हारेपछि कप्तान सन्दीप लामिछानेले प्रतिक्रिया दिएका छन्। म्याचपछि नेप्लेज टीभीसँग कुराकानी गर्दै सन्दीपले म्याचमा सबै बलरहरूले उत्कृष्ट बलिङ गरेको बताएका छन्।
उत्कृष्ट लयमा रहेका यूएईलाई ब्याटिङ विकेटमा १ सय ६८ मा रोक्न एक ड्रिम जस्तै भएको उनको भनाइ छ। सन्दीपले नेपाली टिमको ब्याटिङबारेमा भने सोच्नु नै पर्ने बताएका छन्।
‘हामी ब्याटिङबारे चाहिँ गम्भीर भएर सोच्नु पर्ने नै छ। ब्याटिङमा हामीले अवसरहरुलाई मिस गरिरहेका छौँ,’ उनले भने,‘हामी म्याचमा सानोतिनो एकदुई वटा गल्ती गरिरहेकै छौँ। आफ्नो विकेटको महत्व बुझ्दै ब्याटिङ गर्नुपर्छ।’
साझेदारी बनाउनु, रनहरूको लागि हतारिनु नै नेपाल हार्नुको कारण बनेको सन्दीपको भनाइ छ। उनले विकेट राम्रो भएतापनि ब्याट्सम्यानहरुले हतार गरेको बताएका छन्।
सन्दीपले पहिलेभन्दा अहिले नेपाली ब्याटिङ खस्किएको स्वीकार गरेका छन्। ‘पहिला यति साह्रो पनि हुँदैन थियो। तर, यसपालि भने धेरै नै खराब भयो ब्याटिङ। त्यसैल मैल भन्छु सबै कुरामा गम्भीररूपमा सोच्नु आवश्यक छ। यो वर्षभर प्रतियोगिता खेल्नु छ। त्यसैले हामीसँग धेरै सोच्न समय पनि छैन, इमान्दार भएर भन्नुपर्दा हामीले ब्याटिङमा सुधार गर्नुपर्छ’
उनले दबाबबाट कसरी मुक्त हुने, टेक्निक कसरी सधार गर्ने, मानसिक रूपबाट कसरी बाहिर निस्कने र सुधार गर्ने भन्ने पक्षमा ध्यान दिन आवश्यक रहेको बताएका छन्।
पत्रकारको जिज्ञासामा सन्दीपले सोमपालको विकेटबारे भने,‘अब खेल अन्त तिर आउँछ। १–२ विकेट बाँकी रहँदा तपाईंलाई रन पनि चाहिन्छ, विकेट पनि जोगाउनुपर्छ। ८४ रन जोड्दा हाम्रो तीन विकेट मात्रै गएको थियो। हामी राम्रोसँग अगाडि बढिरहेका थियौं। तर, एकैपटक १२० रनमै अलआउट हुनु राम्रो हाइन। यद्यपि हामी प्रत्येक खेलबाट सिक्दै अगाडि बढ्छौँ।
यस सिरिजमा नेपालको यो पहिलो हार हो। पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेटले हराएको थियो। युएईको यो लगातार दोस्रो जित हो। पहिलो खेलमा युएईले पीएनजीलाई नै ७ विकेटले हराएको थियो।
अब नेपालले तेस्रो खेलमा युएईविरुद्ध नै सोमबार प्रतिस्पर्धा गर्नेछ। नेपालले अन्तिम खेल पीएनजीविरुद्ध मंगलबार खेल्नेछ।
लिग–२ मा कुल ७ टिम सहभागि रहेका छन्। नेपालले १० खेलमा १० अंक जोडेको छ। नेपाल छैटौं स्थानमा रहेको छ। यूएई भने १६ खेलमा ९ जित निकाल्दै २० अंकका साथ दोस्रो स्थानमा छ।













