काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को दोस्रो क्वालिफायर खेलमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार सम्पन्न रोमाञ्चक खेलमा १ बल बाँकी छँदै लक्ष्य पूरा गरी सुदूरपश्चिमले उपाधि भिडन्त पक्का गरेको हो ।
१३४ रनको सामान्य तर चुनौतीपूर्ण लक्ष्य पछ्याएको सुदूरपश्चिमले १९ दशमलव ५ ओभरमा ७ विकेट गुमाउँदै १३६ रन बनायो । सुदूरपश्चिमको जितमा श्रीलंकाली अलराउन्डर थरिन्दु रत्नायके नायक बने । सुरुवाती विकेट सस्तैमा गुमाएर दबाबमा परेको इनिङ्स सम्हाल्दै उनले ४२ बलमा ७ चौकासहित अविजित ५३ रनको म्याच-विनिङ पारी खेले । अन्तिम ओभरमा जितका लागि ४ रन चाहिएको अवस्थामा उनले कामिल मिश्राको बलमा चौका प्रहार गर्दै टिमलाई फाइनल पुर्याए ।
सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले १३ बलमा १ चौका र २ छक्कासहित २३ रन बनाए भने कप्तान दीपेन्द्र सिंह ऐरीले १५ रन जोडे । यस्तै, आरिफ शेख र इशान पाण्डेले समान १०-१० तथा जर्ज मुन्सेले ८ रनको योगदान दिए । बलिङतर्फ चितवनका रञ्जित कुमारले २ विकेट लिए भने रिजन ढकाल, उसामा मिर, सलाउद्दिन खान र कमल सिंह ऐरीले १-१ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको चितवन राइनोजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रन बनाएको थियो । चितवनका लागि ओपनर डेविड मलानले एक्लै इनिङ्स सम्हाल्दै ५१ बलमा ९ चौका र २ छक्का प्रहार गरी अविजित ७१ रन बनाए । अन्य ब्याटरहरू चल्न नसक्दा चितवनले ठूलो स्कोर बनाउन सकेन । चितवनका लागि सलाउद्दिन खानले १८ र कमल सिंह ऐरीले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । कप्तान रवि बोपारा १ रनमै आउट भए भने कुशल मल्लले पनि १ रन मात्र जोडे ।
चितवनलाई सस्तैमा समेट्न सुदूरपश्चिमका स्कट कुगेलेइनले ४ ओभरमा २७ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । यस्तै, ब्याटिङमा चम्किएका थरिन्दु रत्नायकेले ४ ओभरमा २३ रन दिएर २ विकेट हात पारे भने कप्तान दीपेन्द्र सिंह ऐरी, इशान पाण्डे र हेमन्त धामीले १-१ विकेट लिए । अलराउन्ड प्रदर्शन गरेका रत्नायके खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
यस जितसँगै सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो सिजन एनपीएलको फाइनलमा स्थान बनाएको छ । पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिमले अब शनिबार हुने फाइनल खेलमा साविक विजेता लुम्बिनी लायन्ससँगै उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । बुधबार भएको इलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई हराएर दोस्रो क्वालिफायरमा पुगेको चितवनको यात्रा भने यहीँ टुंगिएको छ ।

















