यूएईविरुद्धको खेल नेपालका लागि यसकारण महत्वपूर्ण

Image

काठमाडौं ।

आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिजअन्तर्गत तेस्रो खेलमा नेपालले यूएईविरुद्ध खेल्दैछ । खेल सोमबार बिहान ११ः१५ देखि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

जम्मा चार म्याच खेल्ने सिरिजमा नेपालले एकमा जित र एक खेलमा हार बेहोरेको छ । पहिलो खेलमा पपुवा न्युगिनीमाथि २ विकेटको जित निकालेको नेपाल दोस्रो खेलमा भने युएईसँग ४८ रनले पराजित हुन पुग्यो । दुवै खेलमा नेपालको ब्याटिङ सन्तोषजनक रहन सकेन । नेपालका ओपनिङ ब्याटरद्वय कुशल भुर्तेल र आसिफ शेखले सम्झनलायक प्रदर्शन गर्न सकेका छैनन् ।

तेस्रो नम्बरमा ब्याटिङ गरेका ज्ञानेन्द्र मल्लले पनि ठूलो पारी खेल्न चुकिरहेका छन् । साथै, दीपेन्द्रसिंह ऐरी पनि लयमा देखिरहेका छैनन् । मध्यक्रमका ब्याट्सम्यान रोहित पौडेलले मात्र राम्रो ब्याटिङ गरेका छन्। उनले पहिलो खेलमा ६० रन र दोस्रो खेलमा ४६ रन जोडेका थिए।

बलिङमा सोमपाल कामीले सानदार पुनरागमन गरेका छन्। पहिलो खेलमा तीन विकेट लिएका उनले दोस्रो खेलमा चार विकेट हात पारे । करण केसीले दोस्रो खेलमा तीन विकेट लिएका थिए। कप्तान सन्दीप लामिछानेले दुवै खेलमा एक एक विकेट लिए ।

दुवै खेलमा नेपालले टस हारेर पहिले बलिङ गरेको थियो । पहिलो खेलमा पपुवा न्युगिनीलाई २०४ रनमा रोकेको नेपालले दोस्रो खेलमा युएईलाई १६८ रनमै अलआउट गरेको थियो ।

दुवै खेलमा लक्ष्य पछ्याउँदै ब्याटिङ गर्दा नेपालका सुरुवाती चार ब्याट्सम्यान ३० रनभन्दा कममा आउट भएका थिए। जसमा पहिलो खेलमा शीर्ष चारमध्ये तीन ब्याटर दोहोरो अंक जोडन् नपाइ आउट भए । दोस्रो खेलमा सुरुवाती चारमध्ये दुई ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

नेपालले दुई खेलमा अहिलेसम्म २ छक्का मात्र हानेको छ । दोस्रो खेलमा छक्का प्रहार गर्न नसकेको नेपालका लागि पहिलो खेलमा करण केसीले २ छक्का हिर्काएका थिए । करणकै ब्याटिङमा नेपालले पहिलो खेलमा जित निकाल्न सकेको थियो ।

तेस्रो खेल नेपालका लागि महत्वपूर्ण

समग्रमा नेपालका लागि भोलि हुने खेलमा ब्याटिङले महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ । ब्याटिङमा सुधार गरे नेपालले युएईलाई टक्कर दिन सक्छ । लिग-२ को अंक तालिकमा छैटौं स्थानमा रहेको नेपाल बाँकी रहेका दुवै खेलमा जित हात पारे दुई स्थान माथि उक्लदै चौथो स्थानमा पुग्नेछ । बाँकी दुई मध्ये एक खेलमा हारे नेपालको स्थान परिवर्तन हुने छैन ।

त्यसैले दुवै खेलमा जित निकालेर अंक तालिकामा फड्को मार्न सुरुमा यूएईलाई हराउनु पर्नेछ । लिग-२ को अंक तालिकामा ‌ओमान शीर्ष स्थानमा छ । ओमानको २८ खेलबाट ३६ अंक छ ।

यूएई अंक तालिकामा दोस्रो स्थानमा छ । उसले १७ खेलबाट २० अंक जोडेको छ । तेस्रो स्थानको स्कटल्यान्डको १२ खेलबाट १६ अंक छ । चौथो स्थानको नामिबियाको १४ खेलबाट १४ अंक र पाँचौ स्थानको अमेरिकाको १६ खेलबाट १४ अंक छ । छैटौं स्थानको नेपालले १० खेलबाट १० अंक जोड्दा पुछारको पपुवा न्युगिनीले १५ खेलबाट २ अंक जोडेको छ ।