थाइल्याण्ड भ्रमणमा विमलसहित केही स्टार खेलाडीको अभाव खड्किएला? यस्तो भन्छन् कोच अल्मुताइरी

Image

काठमाडौं ।

नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले थाइल्याण्डविरुद्धको मैत्रीपूर्ण खेल महत्वपूर्ण रहेको बताएका छन् । उनले यो खेल फिफा वरियता र एएफसी एसियन कप छनोटका लागि महत्त्वपूर्ण रहेको बताएका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले गरेको बिदाइ कार्यक्रममा प्रशिक्षक अल्मुताइरीले मैत्रीपूर्ण खेलमा जित निकाल्न सके नेपालको वरियतामा सुधार हुने बताए ।

‘थाइल्याण्डविरुद्धको खेल नेपाली टोलीका लागि वरीयता सुधार गर्ने मौका पनि हुनेछ । त्यस्तै एएफसी छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने वातावरण पनि सिर्जना गर्नेछ । थाइल्याण्ड त्यही क्षेत्रको हो जहाँ इन्डोनेसिया पर्छ र उनीहरू जोर्डन र कुवेतको वरीयतामा रहेका छन् । त्यसैले हाम्रो लागि यो प्रतियोगिता निकै महत्त्वपूर्ण छ,’ उनले भने ।

एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले थाइल्याण्डसँग खेल्न लागेको हो । नेपालले थाइल्याण्डको क्लब चोनबरी एफसीसँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ । उक्त खेल आइतबार हुनेछ । ​अल्मुताइरीले थाइल्याण्ड र चोनबरी एफसीसँगको खेलमा युवा खेलाडीहरूले अवसर पाउने बताएका छन् ।

आफ्नो लागि नतिजाभन्दा पनि खेलाडीको प्रदर्शनमा सुधार ल्याउनु महत्त्वपूर्ण भएको उनले बताए ।
‘मलाई नतिजासँग भन्दा पनि खेलाडीले उत्कृष्ट प्रदर्शन गरुन् भन्ने हो । त्यसैले मैले दुवै खेलमा युवा खेलाडीलाई प्राथमिकता दिनेछु,’ अल्मुताइरीले भने । नेपालले थाइल्याण्डसँग मार्च २४ मा खेल्नेछ ।

विमलसहित केही महत्वपूर्ण खेलाडी टिममा नहुने भएपछि के भन्छन् अल्मुताइरी?

विशाल श्रेष्ठ, विशाल राई, विमल घर्तीमगर, सुनिल बल, मनिष डाँगी, सुजल श्रेष्ठ, रञ्जित धिमाललगायत महत्वपूर्ण खेलाडीलाई टिममा उपलब्ध छैनन् । मछिन्द्रले एएफसी कपका लागि तयारी गरिरहेकाले राष्ट्रिय टिममा उनीहरू उपलब्ध हुन नसकेका हुन् ।

‘मछिन्द्रका खेलाडीहरू क्याम्पमा आएनन् र उनीहरू राष्ट्रिय टिममा छैनन् । मलाई लाग्छ जब राष्ट्रिय टिमको कुरा गर्छौं, हामीले अन्य कुराको वास्ता गर्नु हुँदैन कि मछिन्द्रका खेलाडी हामीसँग होस् या नहोस्, त्यसले केही फरक पार्दैन,’ कोच अल्मुताइरीले भने, ‘नेपाल राष्ट्रिय टिम सबै भन्दा ठूलो हो । कोचभन्दा ठूलो, संघभन्दा ठूलो, खेलाडीभन्दा ठूलो, क्लबभन्दा ठूलो, सबैभन्दा ठूलो ।’

मछिन्द्रले चैत २२ मा एएफसी कप छनोटको प्रारम्भिक चरणअन्तर्गत श्रीलंकाको ब्लूस्टार एफसीसँग दशरथ रंगशालामा प्रतिस्पर्धा गर्नेछ ।

‘वास्तवमा भन्नु पर्दा मैले थाइल्यान्ड राष्ट्रिय टिमको खासै अध्ययन गरेको छैन । अहिले एसियन कप छनोटमा रहेका जोर्डन, कुवेत र इन्डोनेसियमा केन्द्रीत छु,’ उनले भने, ‘यद्यपी थाइल्यान्डले इन्डोनेसियासँग खेलेको खेलको विश्लेषण गरिरहेको छु । दुई महिनाअघि उनीहरुले इन्डोनेसियासँग खेलेका थिए । थाइल्यान्डले त्यो टिममा अहिले १२ देखि १५ परिवर्तन गरिसकेका छन् ।’

थाइल्याण्डको क्लब चोनबरी एफसीसँग नेपालले मार्च २७ मा हुनेछ । एएफसी एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । नेपालको समूहको छनोट खेलहरू कुवेतमा आयोजना हुनेछ । छनोट खेलहरू जुन ८ देखि १४ सम्म हुनेछ ।

एएफसीले छनोटमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरेको हो । समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् ।

नेपाली टिम : किरणकुमार लिम्बु (कप्तान/गोलरक्षक), टिकेन्द्र थापा (गोलरक्षक), दीप कार्की (गोलरक्षक), आशिष लामा, आयुष घलान, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, रोहित चन्द, प्रशान्त अवस्थी, नवीन गुरुङ, दर्शन गुरुङ, नितिन थापा, दिनेश राजवंशी, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सन्तोष तामाङ, आकाश बुढा मगर, सुमन अर्याल, सुमन लामा, सुदीप गुरुङ, सुरज ज्यू ठकुरी, तेज तामाङ र सुवास गुरुङ ।