काठमाडौं ।
बंगलादेशविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा घरेलु टोली दक्षिण अफ्रिका ७ विकेटले विजयी भएको छ । योसँगै तीन खेलको सिरिज द. अफ्रिकाले १–१ को बराबरीमा ल्याएको छ । सिरिजको पहिलो खेलमा ऊ ३८ रनले पराजित भएको थियो ।
श्रृंखलाको दोस्रो खेलमा बंगलादेशले दिएको १९५ रनको लक्ष्य दक्षिण अफ्रिकाले ३७.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । उसका लागि क्विन्टन डिककले ४१ बलमा ९ चौका र एक छक्कासहित ६२ रन बनाए ।
त्यस्तै, कायल भेयर्नेले ७७ बलमा चार चौका र दुई छक्काको सहयोगमा अविजित ५८ रनको पारी खेले । कप्तान तेम्बा बावुमाले ३७, जान्नेमान मलानले २६ र रस्सीवानदर दुसनेले अविजित ८ रनको योगदान दिए ।
बंगलादेशका अफिफ होसेन, शाकिवअल असन र मेहदी हसन मिराजले एक/एक विकेट लिए । त्यसअघि, जोहानसबर्गमा टस जितेर ब्याटिङ रोजेको बंगलादेशले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९४ रन बनायो ।
उसका लागि अफिफ हुसेन अर्धशतकीय पारी खेले । उनले १०७ बलमा ९ चौकाको मद्दतमा ७२ रन बनाए ।
त्यस्तै, मेहेदी हसनले ३८, महमुदूल्लाहले २५, लिटन दासले १५ र मुस्फिकुर रहिमले ११ रनको योगदान दिए । बंगलादेशका शीर्ष क्रमका ब्याटरले आज खासै योगदान दिन सकेनन् ।
बलिङमा तीव्र गतिका कागिसो रबाडाले उत्कृष्ट प्रदर्शन गरे । उनले १० ओभरमा ३९ रन खर्चदै ५ विकेट हात पारे । रबाडाले लिटन दास, शाकिवअल हसन, अफिफ होसेन र मेहदी हसनलाई आउट गरेका थिए । आसन्न सिजनको आईपीएलमा रबाडाले पञ्जाब किंग्सबाट खेल्दै छन् ।
उनलाई पञ्जाबले अक्सनबाट ९ करोड २५ लाख भारुमा अनुबन्ध गरेको थियो । यस्तै, लुंगी एनगिडी, तबरेज शम्सी, वार्ने पार्नेल र रस्सी भान डर दुसेनले १/१ विकेट हात पारे । बंगलादेश र दक्षिण अफ्रिकाबीचको निर्णायक तथा तेस्रो खेल बुधबार हुनेछ ।
















