काठमाडौं ।
आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत आज घरेलु टोली युएईविरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । खेल ११ः१५ देखि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुँदैछ ।
आजको खेलमा नेपालले प्लेइङ–११ मा तीन खेलाडी परिवर्तन गरेको छ । आज कमलसिंह ऐरी, सागर ढकाल र आसिफ शेखलाई विश्राम दिँदै विनोद भण्डारी, विक्रम सोब र पवन सर्राफलाई मौका दिएको छ ।
जारी सिरिजमा विक्रम र पवनको यो पहिलो खेल हो । विनोदले भने पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध खेलेका थिए ।
नेपालले दोस्रो खेलमा यूएईले दिएको १६९ रनको लक्ष्य पछ्याउँदा १२० रन मात्र बनाउन सकेको थियो । पिचको मागअनुसार खेल्न नसक्दा नेपाल सो ‘लो स्कोरिङ म्याच’ मा पनि फराकिलो हार बेहोर्न बाध्य भयो।
तेस्रो खेलमा नेपालले सो गल्ती दोहोर्याउनुहुन्न । सम्हालेर खेल्दै सिंगल/डबलमा ध्यान दिन सके नेपालले खेलमा जित दर्ता गर्न सक्छ । समग्रमा नेपालका लागि सोमबार हुने खेलमा ब्याटिङले महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ । ब्याटिङमा सुधार गरे नेपालले युएईलाई टक्कर दिन सक्छ ।
लिग–२ को अंक तालिकमा छैटौं स्थानमा रहेको नेपाल बाँकी रहेका दुवै खेलमा जित हात पारे चौथो स्थानमा पुग्नेछ । बाँकी दुईमध्ये एक खेलमा हारे नेपालको स्थान परिवर्तन हुने छैन । त्यसैले दुवै खेलमा जित निकालेर अंक तालिकामा फड्को मार्न सुरुमा यूएईलाई हराउनु पर्नेछ । लिग-२ को अंक तालिकामा ओमान शीर्ष स्थानमा छ । ओमानको २८ खेलबाट ३६ अंक छ ।
यूएई अंक तालिकामा दोस्रो स्थानमा छ । उसले १७ खेलबाट २० अंक जोडेको छ । तेस्रो स्थानको स्कटल्यान्डको १२ खेलबाट १६ अंक छ । चौथो स्थानको नामिबियाको १४ खेलबाट १४ अंक र पाँचौ स्थानको अमेरिकाको १६ खेलबाट १४ अंक छ । छैटौं स्थानको नेपालले १० खेलबाट १० अंक जोड्दा पुछारको पपुवा न्युगिनीले १५ खेलबाट २ अंक जोडेको छ ।
यूएईविरुद्ध नेपालको प्लेइङ–११ : सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, विनोद भण्डारी (विकेटकीपर), रोहितकुमार पौडेल, आरिफ शेख, विक्रम सोब, करण केसी, सोमपाल कामी र पवन सर्राफ ।













