विश्वकप लिग-२ : यूएईविरुद्ध नेपालको शतक पूरा

Image

काठमाडौं ।

आईसीसी विश्वकप लिग–२ को एकदिवसीय सिरिजअन्तर्गत वानडे सिरिजमा यूएईविरुद्ध नेपालले १०० रन अर्थात् शतक पूरा गरेको छ । नेपालले ३४ ओभरमा ८ विकेट गुमाएर १ सय रन पूरा गरेको हो ।

२०३ रनको लक्ष्य पछ्याउने क्रममा १०० रन पूरा गर्दा नेपालले करण केसीलाई ४, विनोद भण्डारीलाई १२, आरिफ शेखलाई १५, ज्ञानेन्द्र मल्ललाई ३०, कुशल भुर्तेललाई चार, पवन सर्राफलाई २, रोहितकुमार पौडेललाई ९ र दीपेन्द्रसिंह ऐरीलाई शून्य रनमा गुमायो ।

त्यसअघि, दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २०२ रन बनायो । उसका लागि रोहन मुस्तफाले अर्धशतकीय पारी खेले । उनले ७३ बलमा एक छक्का र दुई चौकाको मद्दतमा ६० रन बनाए ।

त्यस्तै, मोहम्मद वसीमले ३३, चिराग सुरीले २६, वृत्य अरविन्दले २४, बसिल हमीदले १७, आलीशान शराफुले २१ रनको योगदान दिए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले १० ओभरमा एक मेडनसहित ३२ रन दिएर ३ विकेट लिए । त्यस्तै, सोमपाल कामी, करण केसीले दुई–दुई, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट हात पारे ।