काठमाडौं ।
आईसीसी विश्वकप लिग–२ को एकदिवसीय सिरिजअन्तर्गत यूएईविरुद्ध नेपाल ९९ रनले पराजित भएको छ पराजित भएको थियो ।
तेस्रो खेलमा यूएईले दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपालले ३५.१ ओभरमा सबै विकेट गुमाएर १०३ रन मात्र बनाउन सक्यो । नेपालका लागि ज्ञानेन्द्र मल्लले ३०, आरिफ शेख, सोमपाल कामीले १५/१५ र विनोद भण्डारीले १२ रन बनाए ।
करण केसी (४), कुशल भुर्तेल (चार), पवन सर्राफ (२), रोहितकुमार पौडेल (९), विक्रम सोब (अविजित १) दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने (०) ले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
यूएईका जुनैद सिद्धिकीले चार, अहमद राजा, आशिफ दाउदले दुई/दुई र बसिल हमीदले एक विकेट हात पारे । त्यसअघि, दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २०२ रन बनायो ।
उसका लागि रोहन मुस्तफाले अर्धशतकीय पारी खेले । उनले ७३ बलमा एक छक्का र दुई चौकाको मद्दतमा ६० रन बनाए । त्यस्तै, मोहम्मद वसीमले ३३, चिराग सुरीले २६, वृत्य अरविन्दले २४, बसिल हमीदले १७, आलीशान शराफुले २१ रनको योगदान दिए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले १० ओभरमा एक मेडनसहित ३२ रन दिएर ३ विकेट लिए । त्यस्तै, सोमपाल कामी, करण केसीले दुई/दुई, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट हात पारे ।
















